Logo
Logo
सम्पादकीय

नौतिक रूपमा पदमा बस्ने अधिकारको अन्त्य


819
Shares

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले संसद्मा दिएको राष्ट्रघाती अभिव्यक्तिले नेपाल र नेपालीको स्वाभिमानमाथि आघात पु¥याएको छ । उनको नेपालले भारतको सीमा मिचेको तथ्यहीन एवं अप्रामाणिक अभिव्यक्ति गैरजिम्मेवार मात्रै नभएर राष्ट्रविरोधी कार्य हो । उनले यो विषयमा आत्मालोचना गर्नुपर्छ ।

नेपालले अहिलेसम्म भारतीय पक्षको भूमि अतिक्रमण गरेको ठोस प्रमाण कहीकतैबाट सार्वजनिक भएको छैन । सीमाविद् एवं इतिहासका जानकारहरूले पनि भारतीय भूमि नेपालले अतिक्रमण गरेको प्रधानमन्त्रीको टिप्पणी मिथ्या भएको बताइरहेका छन् । सिंगो मुलुकले समेत कुनै जानकारी नपाएको सीमा जस्तो गम्भीर विषयमा बालेनले के आधारमा टिप्पणी गरे ? अहिले यही प्रश्न उनीमाथि बर्सिन थालेको छ । उनको यस्तो हर्कतले देशभक्त नेपालीको शिर निहुरिँदै मुलुकको गरिमामै आँच पुगेको छ ।

देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेका उनको तथ्यहीन अभिव्यक्तिले नेपाल र नेपालीमाथि उपहास गर्दैै वर्षौंदेखिको सीमा समस्या सुल्टिनुको साटो झनै बल्झिने खतरा बढाएको छ । भारतका कारण उत्पन्न सीमा समस्या समाधान गर्नुको साटो उल्टै भारतीय भूमि मिचेको राष्ट्रघाती अभिव्यक्ति दिएर आफ्नो भारत भक्ति उदाङ्गो पारेका छन् ।

प्रधानमन्त्रीको यस प्रकारको देश विरोधी अभिव्यक्तिको जति निन्दा गरे पनि कम हुन्छ । विगतदेखि मुलुकको सीमा क्षेत्रका बासिन्दा भारतीय अतिक्रमणको चपेटामा परेका छन् । कालापानी, सुस्ता लगायतका क्षेत्रमा सैनिक उपस्थितिसहित भारतीय आधिपत्य कायम गरिएको छ ।

तर मुलुकका प्रधानमन्त्रीले भने उल्टै नेपालले भारतीय भूमि मिचेको तथ्यहीन अभिव्यक्ति दिएर आफ्नै भूमि र सीमा क्षेत्रका नेपालीको पीडामाथि नुन चुक थोपरेका छन् । मुलुकको कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्री स्वयंले नै देशलाई घात पुग्नेगरी दिएको यस अभिव्यक्तिलाई सच्याउनुको विकल्प छैन ।

मुलुकको सार्वभौमसत्ताको रक्षा गर्ने प्रमुख कार्यभार बोकेका प्रधानमन्त्री आफैँले नेपालको राष्ट्रिय हित प्रतिकूल हुनेगरी बाह्य शक्ति रिझाउने अभिव्यक्ति नेपाली जनतालाई किमार्थ स्वीकार्य छैन । राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्ने जिम्मेवारीबाट च्युत भएर दिइएको राष्ट्र विरोधी अभिव्यक्तिले उनी प्रधानमन्त्रीका लागि अयोग्य साबित भएका छन् । उनी पदमा रहे समयक्रममा उनका अभिव्यक्ति र क्रियाकलाप देश र जनताका लागि थप घातक हुने संशय बढाएको छ ।

अझै प्रधानमन्त्री भइसकेपछि मात्रै नेपालले भारतीय सीमा मिचेको थाहा पाएको बताएका उनले विगतमा आफूले ग्रेटर नेपालको नक्सा राखेर नेपाली जनतालाई भ्रमित तुल्याएका थिए । अहिलेको सीमाको समेत जानकारी नभएका उनलाई ऐतिहासिक कालको गुमिसकेको सीमाप्रति मोह देखाउनुको अन्तर्य राष्ट्रवादको आवरणमा सत्तारोहण गर्ने कुचेष्टा रहेको प्रस्ट भएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिपछि सीमा क्षेत्रका नेपाली नागरिक भारतीय पक्षको ज्यादतीबाट थप पीडित बनेका छन् । सुस्ता क्षेत्रमा भारतीय एसएसबी प्रवेश गरेर त्यहाँका स्थानीय आतंकित बनाएको छ ।

नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा उल्टै स्वदेशी भूमि समेत भारतकै हो भन्ने आशयको प्रधानमन्त्रीको अभिव्यक्तिले सबै नेपालीलाई लज्जित तुल्याएको छ । यस्तो आफ्नै मातृभूमिप्रति घात गरेर मुलुकलाई थप संकटमा पार्ने प्रधानमन्त्री देशले खोजेको होइन, विगतमा दलहरूले गर्न नसकेको काम गर्न जनताले रास्वपालाई दुईतिहाइ मत दिएका हुन् । त्यसको सम्मान गर्नुपर्छ ।

देशमा व्याप्त बेथितिको अन्त्य गर्दै सुशासन कायम गर्न भएको जेनजी विद्रोहले रास्वपा र बालेनको सत्तारोहण भएको हो । परम्परागत पार्टीलाई असक्षम देखाएर जेनजी विद्रोहबाट सत्तामा आएका बालेनले त्यही आन्दोलनमा दमन गरेको आरोप लागेका तत्कालीन सरकार प्रमुखलाई कानुनी दायरामा ल्याउन सकेका छैनन् ।

जेनजी विद्रोहको अन्तरनिहीत उद्देश्य परम्परागत दलहरूले लादेको कुशासनको अन्त्य गर्दै मुलुकलाई सुशासनयुक्त बनाउनुपर्ने दायित्व वहन गर्नुपर्नेमा देश विरोधी अभिव्यक्ति दिएर उनले झनै नेपाली जनतालाई मर्माहत बनाएका छन् । यस्तो गैरजिम्मेवार र राष्ट्रिय हित विपरीतको अभिव्यक्ति दिएका प्रधानमन्त्री बालेनलाई पदमा बस्ने नैतिक अधिकार छैन ।

प्रतिक्रिया दिनुहोस्