Logo
Logo

एमाले पुनर्गठनका लागि सुझाव संकलन गरिँदै, कार्यदलको सदस्य सचिवमा पोखरेल


693
Shares

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी सुझाव सङ्कलन गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा च्यासलमा बसेको कार्यदलको बैठकले सुझाव संकलनका लागि देशव्यापी भेला गर्ने निर्णय गरेको हो ।

कार्यदलको पहिलो बैठकले संगठन सुदृढीकरण र भावी कार्यदिशा निर्धारणलाई लक्षित गर्दै असार १९ गतेसम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरेको प्रचार विभाग प्रमुख निरज आचार्यले बताए।

बैठकले पार्टी संरचना थप सुदृढ र प्रभावकारी बनाउन प्रदेशदेखि केन्द्र तहसम्म सुझाव सङ्कलन तथा छलफल कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ ।

बैठकले जेठ ३० मा बागमती प्रदेश, असार २ मा कोशी प्रदेश, असार ४ मा लुम्बिनी प्रदेश, असार ६ मा सुदूरपश्चिम प्रदेश, असार ८ मा कर्णाली प्रदेश, असार ११ मा गण्डकी प्रदेश, असार १३ मा मधेश प्रदेश, असार १६ मा राजधानी, असार १७ मा सम्पर्क समन्वय, असार १८ मा जनसंगठन र असार १९ मा विभाग प्रमुख तथा निकायका पदाधिकारीसँग छलफल गर्ने तय गरेको छ ।

त्यस्तै प्रदेशस्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तहका पदाधिकारीको सहभागिता रहने जनाइएको छ । कार्यक्रमको समन्वय सम्बन्धित प्रदेश इन्चार्जहरूले गर्ने निर्णय गरिएको छ । त्यस्तै, कार्यदलका सदस्य सचिवको जिम्मेवारी शंकर पोखरेललाई दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्