Logo
Logo

सामाजिक सञ्जालमा ‘डिल’ र कारबाट ‘सप्लाई’, यौनधन्दामा संलग्न १२ युवतीसहित १६ जना पक्राउ


882
Shares

काठमाडौं । गौशाला क्षेत्रमा कार र ट्याक्सीको प्रयोग गरी अवैध रूपमा युवती सप्लाई गर्दै यौनधन्दा चलाउने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाको टोलीले विशेष अपरेशन चलाएर यौनधन्दा सञ्चालन गर्ने ४ पुरुष र १२ युवतीसहित कुल १६ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने पुरुषहरूमा सुनिल तामाङ (सार्लाही), विवेक स्याङ्तान (मकवानपुर), विकास भुलन (मकवानपुर) र राजकुमार गौतम (काठमाडौं) रहेका छन् । प्रहरीका अनुसार यो गिरोहमा होटल सञ्चालकदेखि गाडी धनीसम्मको सेटिङ रहेको पाइएको छ ।

यो समूहले ग्राहक खोज्नका लागि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूले सामाजिक सञ्जालमार्फत नै ग्राहकलाई युवतीहरूको तस्बिर र भिडियो पठाउने र रकमको बार्गेनिङ गर्ने गरेका थिए ।

प्रतिग्राहक १० हजार रुपैयाँसम्मको कुरा मिलेपछि उनीहरूले युवतीहरूलाई भनेको स्थानमा पु¥याउने गर्थे । युवती ओसारपसारका लागि उनीहरूले बा.ए.सी ०८९० नम्बरको मारुती सुजुकी कार र बा २ ज २३२७ नम्बरको ट्याक्सी प्रयोग गर्ने गरेका थिए, जसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरूको मोबाइलबाट यौनधन्दा र रकम लेनदेनका विषयमा भएका कुराकानी तथा बार्गेनिङका प्रमाणहरू समेत फेला पारेको छ । प्रहरीका अनुसार उनीहरूले विशेषगरी गौशाला क्षेत्रका होटलहरूलाई केन्द्रित गरेर यो धन्दा चलाइरहेका थिए ।

काठमाडौं उपत्यकामा कारको प्रयोग गरेर युवती सप्लाई गर्ने यो पहिलो घटना भने होइन। यसअघि गत मंसिरमा पनि प्रहरीले यसै गरी आफ्नै कारमा युवती राखेर ठमेल, गौशाला, गोंगबु र विमानस्थल क्षेत्रका होटलहरूमा पु¥याउने कुलबहादुर कार्कीलाई पक्राउ गरेको थियो । ५० जनाभन्दा बढी युवतीको तस्बिर मोबाइलमा राखेर होटलका कर्मचारीहरूसँगको सेटिङमा धन्दा चलाउने कार्की अहिले पुर्पक्षका लागि कारागारमा छन् ।

अहिले पक्राउ परेको टोलीले पनि दुरुस्तै पुरानै शैली अपनाएर अपराध गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्