Logo
Logo

हेलिकप्टर खसालेको भन्दै इरानमाथि अमेरिकाको जवाफी आक्रमण


819
Shares

काठमाडौं । अमेरिकाले गए राति इरानमाथि हवाई आक्रमण गरेको छ । अमेरिकी केन्द्रीय कमान्डले होर्मुज जलडमरूमध्य नजिक अमेरिकी अपाचे हेलिकोप्टर खसालिएको घटनाको जवाफ स्वरूप उक्त कारबाही गरिएको जनाएको छ ।

The current image has no alternative text. The file name is: usa.jpg

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गस्तीमा रहेको अमेरिकी एएच–६४ अपाचे हेलिकोप्टर इरानले खसालेको दाबी गरेका थिए । यद्यपि हेलिकोप्टरका दुवै चालक सुरक्षित रहेको उनले बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिका यस आक्रमणको जवाफ दिन बाध्य भएको उल्लेख गरेका थिए ।

उता इरानका विदेशमन्त्री अब्बास अर्घचीले इरानी सेनाले प्रत्येक आक्रमणको प्रतिकार गर्ने चेतावनी दिएका छन् । उनले अमेरिका सुरक्षित रहन चाहन्छ भने आफ्नो क्षेत्रबाट बाहिरिनुपर्ने बताएका छन् ।

हेलिकोप्टर दुर्घटनाबारे भने फरक–फरक दाबी सार्वजनिक भएका छन् । एक अमेरिकी अधिकारीका अनुसार अपाचे हेलिकोप्टर इरानी ड्रोनसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो । घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ ।

यसबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्डले बहराइनमा तैनाथ अमेरिकी नौसेनाको पाँचौँ बेडामाथि ड्रोन आक्रमण गरेको दाबी गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी इरानमा अमेरिकाले गरेको आक्रमणको जवाफ स्वरूप उक्त कारबाही गरिएको हो ।

इरानी रिभोल्युसनरी गार्डका अनुसार अमेरिकाले जास्क, सिरिक र केश्म द्वीपका विभिन्न सैन्य तथा रणनीतिक स्थानहरूमा आक्रमण गरेको थियो । ती आक्रमणमा सिरिकको बेमानी क्षेत्रमा रहेको सञ्चार टावरमा क्षति पुगेको तथा दुईवटा पानी ट्याङ्की नष्ट भएका छन् ।

इरानले अमेरिकी सैन्य कारबाही जारी रहे थप कडा जवाफ दिने चेतावनी दिएको छ । दुवै पक्षबीचको तनाव र टकराव अझै समाप्त नभएको इरानी रिभोल्युसनरी गार्डले जनाएको छ । यद्यपि बहराइनस्थित अमेरिकी पाँचौँ बेडामाथि ड्रोन आक्रमण भएको दाबीलाई अमेरिकी सेनाले अहिलेसम्म पुष्टि गरेको छैन ।

बहराइनमा तैनाथ अमेरिकी पाँचौँ बेडालाई पश्चिम एसियामा अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण नौसैनिक तैनाथीमध्ये एक मानिन्छ । यसले फारसी खाडी, अरब सागर तथा होर्मुज जलडमरूमध्यलगायत रणनीतिक समुद्री क्षेत्रको निगरानी गर्दै आएको छ ।

इरानको मेहर समाचार संस्थाका अनुसार दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास र नजिकै रहेको क्वेश्म आइल्याण्डमा विभिन्न विस्फोटका आवाज सुनिएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार विस्फोटका आवाज सुनिएपछि सुरक्षा निकायहरू उच्च सतर्कतामा राखिएका छन् । यद्यपि ती विस्फोटको कारणबारे तत्काल स्पष्ट जानकारी सार्वजनिक भएको छैन । बन्दर अब्बास र केश्म द्वीप होर्मुज जलडमरूमध्य नजिक अवस्थित छन् । यो जलमार्ग विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी तथा समुद्री व्यापार मार्गमध्ये एक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्