Logo
Logo

प्रधानमन्त्री ‘छापामार’ शैलीमा संसद् छिर्नु संसदीय मर्यादाको उपहास


ऐन महर, प्रमुख सचेतक, नेकपा(एमाले)

378
Shares

संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले संसद्मा विरोध गर्दै आएका छन् । संसद्मा सत्ता पक्षले बहुमतको आडमा प्रतिपक्षलाई बेवास्ता गरेको आरोप प्रतिपक्षी दलहरूको छ । प्रधानमन्त्री शाहको नेपालले भारतको सीमा मिचेको अभिव्यक्तिको विरोध गर्दै प्रतिपक्षी दलले निरन्तर संसद् अवरोध गर्दै आएका छन् ।

यसैगरी, प्रमुख प्रतिपक्षी दल एमालेमा नेतृत्वको विषयमा आन्तरिक किचलो समेत बढेको छ । गत निर्वाचनको लज्जास्पद मतपरिणामपछि एमालेमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प समेत नेताहरूले खोज्न थालेका छन् । एमालेको आन्तरिक राजनीति, निरन्तरको संसद् अवरोध र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा केन्द्रित रहेर एमालेका प्रमुख सचेतक ऐन महरसँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंशः

परम्परागत दलहरूको पराजयदेखि रास्वपाको उदय र वर्तमान बालेन सरकारलाई कसरी हेर्नुभएको छ ?

यो लोकतन्त्रकै परिणामसँगै आएको नयाँ प्रयोग र सिकाई पनि हो । लोकतन्त्रको उच्चतम अभ्यास गर्दै गर्दा सबैका विचारलाई स्वीकार गर्नुपर्छ । सबैका विचार फल्न र फूल्न पाउनुपर्छ । यसले नेपालको लोकतान्त्रिक व्यवस्था परिपक्व हुँदै गएको छ भन्ने बुझिन्छ । यो स्वाभाविक प्रक्रिया हो । प्रमुख राजनीतिक पार्टीलाई बलियो बनाउन पनि नयाँ शक्ति उदाउने गर्छन् । मुलुकका प्रमुख दलहरूले लोकतन्त्र प्राप्तिका लागि लामो संघर्ष गरेको इतिहास छ । तिनै पार्टीलाई थप बलियो बनाउन पनि यस्तो मतपरिणाम आएको हो ।

यो परिणाम तपाईँहरूको असक्षमताकै उपज आएको हो नि हैन ?

लोकतन्त्र स्थापित गर्ने पार्टीहरूले जनताको आकांक्षा पूरा गर्न नसक्दा यो परिणति देखाप¥यो । एमाले लगायतका अन्य राजनीतिक पार्टीलाई यो एउटा शिक्षा पनि हो । हामीले शासन सत्ता सञ्चालन गर्दा केही कमजोरी रह्यो । यसको आन्तरिक र बाह्य दुवै कारण छ । मुख्यतः आन्तरिक कारण नै प्रमुख हो । त्यसमा कतिपय बाह्य तत्त्वको भूमिका पनि रहेको छ । त्यसो भनेर अझै पन्छिन त मिल्दैन । आन्तरिक कारण नै प्रधान भएकाले त्यसलाई समयमै निरूपण गर्न नसकेकै हो । जनताका चाहनालाई नजरअन्दाज गर्दा पनि यो अवस्था आएको हो ।

२०७९ को निर्वाचनपछि केही कुरामा प्रमुख पार्टी चुकेकै हुन् । पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउनु कदापि ठिक थिएन । दुईवटै प्रमुख पार्टी सरकारमा हुँदा सदनमा प्रतिपक्ष कमजोर भयो र जनता प्रतिपक्ष भएर नै समस्या सिर्जना भएको हो । यस्ता लोकतन्त्रका विकृत रूप जनताले रुचाएका थिएनन् । अनि, अर्को ३२ सिट भएको माओवादीले सरकारको नेतृत्व गर्दै म्याजिक नम्बर भनेर लोकतन्त्रको हुर्मत लिने कार्य गरियो । त्यसले पनि जनतामा निराशा बढायो ।

यो सँगै पार्टीका अन्य आन्तरिक कारण पनि छन् । एमालेकै कुरा गर्ने हो भने जनताको चाहना र कार्यकर्ता परिचालनमा पनि कमजोरी भएकै हो । समग्रतामा हेर्दा पार्टी सञ्चालनदेखि युवा र नयाँ पुस्ताले चाहेको वातावरण बनाउन पनि कमजोरी रह्यो ।

एमालेको अप्रत्याशित मतपरिणाम आउनुमा मुख्य नेतृत्व नै प्रमुख जिम्मेवार हो ?

एमालेको हकमा नेतृत्वलाई दोषारोपण गरेर पन्छिने प्रवृत्ति गलत छ । यसमा उम्मेदवारको पनि भूमिका छ । पार्टीका हरेक कमिटीले नै यसको जिम्मेवारी लिनुपर्छ । एमालेकै नेताहरूबाट पनि असहयोग भएको छ । पार्टीभित्र आन्तरिक किचलो पनि बढ्यो । यसमा सबै कमिटीको मुख्य भूमिका र जिम्मेवारी छ । निर्वाचनमा पार्टीभित्रकै अन्तरघात पनि देखियो, त्यसले पनि मतपरिणाम अनपेक्षित आएको हो ।

एमालेमा आन्तरिक किचलो पार्टी नेतृत्वकै कारण निम्तिएको हो ?

एउटा व्यक्तिलाई दोषारोपण गरेर मात्रै अरू उम्किन पाइँदैन । पार्टी सञ्चालन र कार्यकर्ता परिचलमा कहीँकतै चुकेकै छौँ । हजार मतान्तरले पनि हामी विभिन्न निर्वाचनमा हारेका छौँ । त्यहाँ ठूलो घात–अन्तरघात भयो । हिजो जुन स्पिडमा काम गर्ने प्रचलन थियो, अहिले हराएको छ । कार्यकर्तामा चरम अवसरवादी प्रवृत्ति हाबी भयो । हिजो जस्तो पार्टीप्रति नेता कार्यकर्ताको समर्पण भाव हराउँदै गयो । यी सबै घटनाले समग्र निर्वाचन परिणाममा नै प्रभाव पारेको हो ।

कसको कारणले पार्टीभित्र यस्तो अप्रिय अवस्था आउने वातावरण बन्यो होला ?

हाम्रो नेपाली समाजमा देखा परेको लोकप्रियतावादकै उपज यस्तो अवस्था आएको हो । त्यसकै सिकार एमाले पनि भएको छ । पार्टीका निर्दिष्ट मूल्य, मान्यता, भावना र विचार कमजोर हुँदै गयो । अहिले एमाले पङ्क्ति चरम अवसरवादको सिकार भएको छ । हाम्रा नीति, सिद्धान्त र विचार कमजोर बन्दै नेपाली समाजको लोकप्रियताकवादबाट एमाले जोगिन सकेन । पार्टी आन्दोलन भन्दा पनि नेता कार्यकर्ता अहिले आत्मकेन्द्रित भएका छन् । पार्टीले यसलाई समयमै पहिचान गर्न नसक्नु नै मुख्य कमजोरी रह्यो । यसमा सबै जिम्मेवार छन् । केन्द्रीय सदस्य देखि पदाधिकारी तहकै नेताहरू एमालेलाई हराउन लागेको सुनिन्छ । यसको जिम्मा सबैले लिनुपर्छ । हामीले हाम्रा कुराहरू जनतासमक्ष लैजान सकेनौँ । हाम्रा नेताहरूमा एकरूपता हुन सकेन । त्यसले नै यो स्थिति आएको हो । नेतृत्वमै रहेकाले अरूको तुलनामा यसमा अध्यक्षको भूमिका केही बढी मात्रै हो ।

यिनै कारण एमालेमा नेतृत्व परिवर्तनको बहस सुरु भएको हो ?

हामीले एमाले बनाउन चाहेको हो ? कि अरू कोही नेता हुन चाहेको ? यी दुई प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्छ । देशको ज्वलन्त समस्या समाधानका लागि सुदृढ र एकताबद्ध एमाले अहिलेको आवश्यकता हो । संस्थागत र विधिमा चल्ने एमाले हामीलाई चाहिएको हो । कसैले कसैलाई बहिर्गमन गरेर एमाले बलियो हुन सक्दैन । अहिलेको सन्दर्भमा ११ औँ महाधिवेशन भएको धेरै भएको छैन । निर्वाचनमा अनपेक्षित परिणाम एक जनाको कारणले मात्रै आएको होइन । अहिलेका अध्यक्ष पाँच वर्षकै लागि म्यान्डेट लिएर आउनुभएको हो । केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेर जाने हो । पार्टीका संस्थागत कमिटीमा छलफल गरेर हल गर्नुपर्छ । पार्टीलाई विधि पद्धति र मूल्य मान्यताका आधारमा अघि बढाउनुपर्छ । पार्टी सबैको साझा भएकाले कसैले कसैलाई निषेध गरेर जान मिल्दैन । यसको लामो र गौरवशाली इतिहास छ । विधि अनुरूप पार्टीको औपचारिक फोरममा छलफल गर्दै जाने हो । हाम्रो महाधिवेशन भएको जस्तो परिस्थिति अहिले नरहेको सत्य हो । तर यसबाट हामी आत्तिने होइन । अलिकति कमजोर भएको र जनमत गुमाएको बेलामा हतोत्साहित नभएर कमजोरी पहिल्याउनुपर्छ । पार्टीका नेता कार्यकर्ता जनता केन्द्रित नहुने सबै दोष अध्यक्षमाथि लगाउने गैरजिम्मेवार काम गर्नुहुँदैन ।

अब संसद्को कुरा गरौँ, संसद्मा यहाँको उपस्थिति निकै सशक्त देखिँदै आएको छ । तर कतिपयले अल्लि अराजक भएको आरोप पनि लगाएका छन् नि ?

यसअघि कतिपय पत्रकार साथीहरूले प्रतिपक्षको भूमिका संसद्मा कमजोर देखियो भन्दै प्रश्न गर्नुहुन्थ्यो । अहिले फेरि कडा रूपमा प्रस्तुत भएको आरोप लगाउनुहुन्छ । हामी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौँ । हामी देशको सार्वभौमसत्ता, संसदीय गरिमा र जनताको जनजीविकाको पक्षमा सधैँ उभिन्छौँ । विरोधका लागि विरोध गर्ने प्रवृत्ति हाम्रो होइन । विपक्षीको बेन्चमा रहेर सरकारका सबै कामको विरोध गर्नुपर्छ भन्ने हाम्रो मान्यता हैन । सरकार देश र जनताको पक्षमा आए हाम्रो समर्थन रहन्छ । तर अहिले सरकारका गतिविधि अल्पमतलाई बन्धक बनाउने गरी अघि बढेपछि हामीले विरोध जनाएका हौँ । हामीले बहुमतलाई बन्धक बनाउन खोजेका हैनौँ । संसद् नियमित चलोस् भन्ने हाम्रो चाहना हो ।

हामी गणतन्त्रका निर्माता हौँ । हामी संसद्मा यो व्यवस्थाको उपभोग गर्न गएका हैनौँ । हाम्रो बलिदानीको उपज यो व्यवस्था आएकाले यसको गरिमा र मर्यादाप्रति सचेत छौँ । सत्ता पक्षले सिर्जना गरेको परिस्थितिले हामीलाई विरोध गर्न बाध्य बनाएको हो । प्रतिनिधिसभा नियमावली जबरजस्ती पास गर्न हुन्छ ? संसद्मा एक घण्टादेखि हाम्रा आवाज बुलन्द गरिरहेका थियौँ । प्रतिनिधिसभामा एक जना सांसद उठेपछि त्यसको सम्बोधन गरेर संसद् अघि बढाउनुपर्छ । प्रतिनिधि सभा नियमावलीले त्यो व्यवस्था गरेको छ । अनि, विपक्षी बेन्चका माननीयले विरोध गर्दागर्दै त्यसलाई अनदेखा गरेर अघि बढ्दा त्यसले सदनको गरिमा बढाउन सक्दैन । प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिको विषय उठाउँदा सभामुखले अटेरी गर्दै अघि बढ्नु अराजकता र गैरराजनीतिक चरित्र हो । संसद्मा सभामुखले बलमिचाइँ गर्न पाइँदैन ।

सभामुखको भूमिका तटस्थ देखिएन भन्ने तपाईँको आरोप हो ?

सभामुख प्रतिशोध र पूर्वाग्रही तवरले दलीय चरित्र कायम राख्दै आउनुभएको छ । उहाँ अहिले पनि रास्वपाको कार्यकर्ता जसरी प्रस्तुत हुनुहुन्छ । सभामुख सदनको अभिभावक भएपनि उहाँको भूमिका त्यस्तो देखिएन । पहिले सुवास नेम्बाङले प्रतिपक्षलाई आवाज उठाउन उत्प्रेरित गर्नुहुन्थ्यो । तर अहिले सभामुखले सदनको मर्यादा विपक्षीबाट मात्रै खोज्ने गैरजिम्मेवार चरित्र कायम राख्दै आउनुभएको छ । सरकारलाई उत्तरदायी र जबाफदेही बनाउने भन्दा पनि विपक्षीका आवाज दबाउने काम गर्नुभएको छ । उहाँले मर्यादा विपक्षीबाट खोज्नुहुन्छ, सत्तापक्षले जे गरे पनि सहजीकरण गर्नुहुन्छ । उहाँको आशय विपक्षी चुप लागेर बस्नुपर्छ भन्ने व्यवहार देखिन्छ । सरकारको जे सुकै कदमलाई पनि ताली बजाउनुपर्छ भन्ने उहाँको धारणा छ । हामीले हाम्रो आवाज बुलन्द गर्छौँ । जनताको समस्या हामी सधैँ मुखरित गरिरहेका छौँ । तर सत्ता पक्ष भने पेलेर जान खोजेको छ ।

संसद् बारम्बार अवरोध हुन थालेको छ, निर्बाध रूपमा सञ्चालन हुने परिस्थिति कहिले होला?

यो हाम्रो चाहना हुँदै होइन । हामी सदन नियमित रूपमा सहज ढंगले चलोस भन्ने चाहन्छौँ । अहिलेको परिस्थितिको मुख्य जिम्मेवार सरकार र सभामुख हो । सदनमा आएर कार्यकारी प्रमुखले नेपालको सीमा भारतले मिचेको बताउँनुहुन्छ । यसरी सदन चल्नुको के अर्थ हुन्छ ? यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनु पर्दैन ? यसरी राष्ट्रघाती, देशविरोधी अभिव्यक्ति सदनबाट दिन मिल्छ ? सदन यसकै लागि हो ?यस बारेमा प्रधानमन्त्रीको जवाफ खोज्दा सभामुख रुलिङ गर्नुहुँदैन ।

प्रधानमन्त्री एकाएक संसद्मा गएर नियम, कानुन र जनमतलाई नजरअन्दाज गर्नुभएको छ । कार्यपालिका प्रमुख व्यवस्थापिकामा जाँदा त्यसको छुट्टै मूल्य हुन्छ । छापामार शैलीमा सदनमा आउनुहुन्छ । प्रधानमन्त्रीको मर्यादा र गरिमा त्यसरी कायम हुन सक्दैन । सभामुखलाई पूर्वजानकारी दिएर जानुपर्नेमा एकाएक गएर उपस्थित हुने कार्य संसद्को उपेक्षा हो । प्रधानमन्त्रीको सदनका अभिव्यक्तिको निकै ठूलो अर्थ हुन्छ । संसद्मा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम पूर्वनिर्धारित हुन्छ । त्यसै अनुसार सांसदले तयारी गरेर प्रश्न सोध्नुपर्ने हुन्छ । तर एकाएक गएर मलाई प्रश्न सोध्नुस् भन्नु गैरजिम्मेवारपन र संसदीय मर्यादाको उल्लंघन हो । यस्तो बचकना कार्यले राम्रो संकेत गर्दैन ।

प्रधानमन्त्रीको गतिविधिले के संकेत गरेको छ ?

प्रधानमन्त्रीले मुलुकको राजनीतिलाई मजाक बनाउनुभएको छ । अपरिपक्वता, बचकनापन र मजाकले मुलुक चल्दैन । संसद्मा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बाहिरिने, गणतन्त्र दिवसमा नबोल्ने, संसद्मा जवाफ नदिने र संसद्मा नआउने जस्ता स्वेच्छाचारी प्रवृत्ति प्रधानमन्त्रीमा छ । सदनमा आउँदा औपचारिक पोशाकलाई उपेक्षा गर्दै आउनुभएको छ ।

गम्भीर त के छ भने सेनाका कार्यक्रममा औपचारिक पोशाक लगाएर जानहुन्छ, तर सदनमा आउँदा ¥याप हान्न आए जसरी आउनुहुन्छ । यस्तो उद्दण्डता र अराजकताले गणतन्त्र, संघीयता, विधिको शासन र कानुनी राजलाई चुनौती दिँदै उपहास गरिरहनुभएको छ । आज प्रधानमन्त्री लोकप्रियतावादको आधारमा सर्वसत्तावादी बन्दै हुनुहुन्छ । उहाँ ‘म नै राज्य हुँ’ को शैलीमा लुई चौधौँको बाटोमा अघि बढ्नुभएको छ । यसरी उहाँ ठिक बाटोमा बाटोमा नभएर उल्टो दिशातर्फ हिँड्नुभएको छ ।

अब प्रतिपक्षी दलहरू कसरी अघि बढ्नुहुन्छ ?

त्यो मुद्दा र एजेन्डाका आधारमा तय हुन्छ । सरकारको यो रवैया विरुद्ध एक ठाउँमा उभिएर अघि बढ्छौँ । अहिले संसद्मा रहेका सबै विपक्षी राजनीतिक पार्टीहरूले सरकारको अराजकता विरुद्ध निरन्तर विरोध कायम गरिरहेका छौँ । बाहिर पनि सरकारका गलत कदम विरुद्ध प्रतिपक्षी दल एकताबद्ध हुन्छौं ।

प्रतिक्रिया दिनुहोस्