काठमाडौं । अर्घाखाँचीमा दुई दिनअघि रास्वपाको जिल्ला अधिवेशनमा सभापतिमा विजयी सीता पराजुलीले प्रतिस्पर्धी दिनेश सुनारलाई निर्वाचन परिणामपछि अङ्कमाल गरेको विषयलाई सामाजिक सन्जालमा गलत अर्थ लगाइएपछि उनीहरू दुवैले त्यसको खण्डन गर्दै प्रष्टिकरण दिएका छन् ।

निर्वाचनको परिणामपछि पराजुलीले सुनारलाई अङ्कमाल गरेकी थिइन् । पराजुलीले भनेकी छन्, ‘नतिजापछि दिनेश भाईलाई भावुक देखेँ, हामी दिदीभाई नै रहे पनि नेतृत्वका लागि खुलेर प्रतिस्पर्धामा गएका थियौँ, म भाइको साथमा छु, तपाई सँग समन्वय गरेर काम गर्नेछु, नेतृत्व प्राविधिक विषय हो भनेर उहाँको सम्मान गरेको हो, तर केही गलत स्वार्थ र सोच भएकाहरूले यसैलाई गलत अर्थ लगाउन केही भिडियो इडिट नै गरेर दुस्प्रचारको प्रयास गरे, पहिलो चरणमा हामी दुवैले त्यसको कडा निन्दा गरेका छौँ, र उनीहरुविरुद्ध साइबरमा जान पनि बाध्य हुनेछौँ ।’
उनले कुनै पनि पार्टीमा नेतृत्वका लागि प्रतिस्पर्धापछि त्यसमा जित्नेले हार्नेलाई वास्ता नगर्ने परिपार्टी हटाउनका लागि र उनको सम्मानका लागि यसको गरेको जनाएकी छन् ।
त्यसैगरी दिनेश सुनारले पनि यो विषयमा गम्भीर ध्यानकर्षण भएको भन्दै आज सामाजिक सन्जालमा यसको प्रष्टिकरण दिएका छन् । ‘सम्बन्धको हिसाबले सीता पराजुली मेरो आदरणीय दिदी हुनुहुन्छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई संस्थागत र सुदृढ बनाउने उद्देश्यले हामी लोकतान्त्रिक निर्वाचन प्रक्रियामा सहभागी भएका हौँ। निर्वाचन प्रतिस्पर्धा विचार, नीति र नेतृत्व चयनको माध्यम हो, सम्बन्ध बिगार्ने वा एकअर्काप्रति वैमनस्यता सिर्जना गर्ने माध्यम होइन,’ उनले भनेका छन्, ‘मतपरिणामपछि दिदी–भाइबीच आपसी सम्मान, सद्भाव र शुभेच्छाका साथ आदानप्रदान गरिएका फोटो तथा भिडियोहरूलाई लिएर सामाजिक सञ्जालमा गरिएको भ्रामक व्याख्या, चरित्रहत्या गर्ने प्रयास, र देखाइएको उच्छृङ्खल, पाखण्डी तथा सङ्कुचित मानसिकता अत्यन्तै निन्दनीय छ।’
‘राजनीतिक प्रतिस्पर्धालाई व्यक्तिगत सम्बन्धसँग जोडेर अनर्गल टिप्पणी गर्नु, दिदी–भाइको पवित्र सम्बन्धमाथि प्रश्न उठाउनु र सामाजिक सञ्जाललाई घृणा फैलाउने माध्यम बनाउनु अराजक, अनैतिक तथा सामाजिक मर्यादाविपरीत कार्य हो । यस्ता प्रवृत्तिप्रति म घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु। लोकतन्त्रमा फरक मत हुन सक्छ, प्रतिस्पर्धा हुन सक्छ, तर मानवीय सम्बन्ध, सम्मान र संस्कारमाथि प्रहार गर्ने अधिकार कसैलाई छैन । यस्ता निम्नस्तरका गतिविधि तत्काल बन्द गर्न सम्बन्धित सबैमा आग्रह गर्दछु । सम्मान गर्न नसके पनि कम्तीमा सभ्यता र मर्यादाको सीमाभित्र रहन सिकौँ,’ उनले लेखेका छन् ।














