काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएका ती प्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेपछि उनीहरूको पद रिक्त भएको हो ।

एमालेको केन्द्रीय सचिवालयले ती जनप्रतिनिधिहरूले दल त्याग गरेको भनी गरेको निर्णयको प्रतिलिपिसहित आयोगलाई जानकारी गराएको थियो । सोही जानकारीका आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ (१) र नियमावली, २०७४ को नियम २२ बमोजिम आयोगको मङ्गलवारको बैठकले उनीहरू निर्वाचित भएका पदहरू रिक्त भएको निर्णय गरेको हो ।
पदमुक्त हुनेहरूमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं. १ का कमल बहादुर बानिया र वडा नं. ६ का कमल तामाङ रहेका छन् भने चम्पादेवी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष शुरेश कुमार थापाको पद पनि रिक्त भएको छ ।
यस्तै, पाल्पाको माथागढी गाउँपालिका-१ का राज कुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका-७ का होमप्रसाद बजगाई र मोरङको लेटाङ नगरपालिका-४ का राम कुमार श्रेष्ठको पद रिक्त भएको आयोगले जनाएको छ ।
मोरङकै रंगेली नगरपालिका-१ का महेश कुमार खनाल र दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष मधुसुदन शर्मा पनि पदमुक्त भएका छन् ।















