काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधि थप गरेको छ । आयोगले असार मसान्तसम्मको समय थप गरेको छ । आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सम्पत्ति विवरण बुझाउनुपर्नेहरु कतिपय विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ भएको गुनासोपछि म्याद थप गरिएको जनाएका हुन् ।

आयोगले जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको थियो । त्यतिबेलाको सूचनाअनुसार जेठ मसान्तसम्म सम्पत्ति विवरण बुझाइसक्नुपर्ने थियो ।
तर सो म्याद सकिन तीन दिन बाँकी छँदा करिब ३ हजार ५०० जनाले मात्र सम्पत्ति विवरण बुझाएका छन् । आयोगका प्रवक्ता गणेश केसीका अनुसार सम्पत्ति विवरण बुझाउनेहरूको चाप र सहजतालाई मध्यनजर गरी अन्तिम पटकलाई म्याद थप गरी मौका दिइएको हो ।














