Logo
Logo

प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण विपक्षीद्वारा अस्वीकार


756
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरण विपक्षी दलहरुले अस्वीकार गरेका छन् । नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा र श्रम संस्कृति पार्टीले परराष्ट्रमन्त्री शिशिर खनालले आज संसदमा दिएको स्पष्टीकरणमा आफ्नो पार्टीको असहमति रहेको जनाएका हुन् ।

एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्रीको घोषणा वा वक्तव्यको रक्षा परराष्ट्रमन्त्रीले गर्ने नभई प्रधानमन्त्री स्वयं रोष्टममा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरे । प्रधानमन्त्रीले निरन्तर रूपमा संसदको उपेक्षा र उपहास गरेको आरोप लगाउँदै उनले यसलाई स्वेच्छाचारिता र अधिनायकवादको सङ्केतका रूपमा चित्रण गरे ।

उनका अनुसार प्रधानमन्त्रीले रोष्टममा आएर आफ्ना गल्तीहरू सच्याउनुपर्ने, सभामुखले विवादित अभिव्यक्तिबारे रुलिङ गर्नुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले आफ्ना सदस्यलाई गल्ती स्वीकार गर्न निर्देशन दिनुपर्नेछ । यी मागहरू पूरा नभएसम्म राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र देशको गरिमाका निम्ति एमालेको सङ्घर्ष जारी रहने नेता थापाले स्पष्ट पारे ।
त्यस्तै नेकपाका सांसद प्रमेश हमालले प्रधानमन्त्रीद्वारा व्यक्त विवादास्पद अभिव्यक्तिमाथि परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरण नेकपाले अस्वीकार गरेको बताए ।

उनले परराष्ट्रमन्त्री खनालले दिएको स्पष्टीकरण नेकपाले अस्वीकार गर्ने स्पष्ट पार्दै प्रधानमन्त्री शाहको नेपालले पनि भारतको भूमि मिचको छ भन्ने भनाइ संसदको अभिलेख (रेकर्ड) बाट हटाउन माग गरे । सांसद हमालले प्रधानमन्त्री संसद्मा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने र माफी माग्नुपर्ने अडान राख्दै आएपनि संसद्को कारबाहीलाई सधैँ रोक्न नहुने धारणा व्यक्त गरे । संसदको अवरोध हटाए पनि प्रधानमन्त्रीको उपस्थितिको माग भने निरन्तर रहने उनको भनाइ थियो । हमालले सभामुखमार्फत प्रधानमन्त्रीलाई रोस्टममा उभिएर जवाफ दिन रुलिङ गर्नसमेत आग्रह गरे ।

त्यसैगरी, श्रम संस्कृति पार्टीले पनि प्रधानमन्त्री स्वयंले सभामा आएर स्पष्टिकरण दिनुपर्ने माग गरेको छ । अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री स्वयं उपस्थित भएर आफ्नो धारणा राख्नुपर्ने भन्दै अरू मन्त्रीमार्फत जवाफ दिनु न्यायसंगत तथा संविधानसम्मत नभएको बताए । उनले प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा आफ्नो धारणा लिखित रूपमा पठाउनुपर्ने धारणा राख्दै गल्ती एक जनाले गर्ने र अर्कोले त्यसको बचाउ वा सच्याउने अभ्यास स्वीकार्य नहुने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले दिएको स्पष्टिकरण दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे मन्त्रीहरुले स्पष्टिकरण दिनेकुरा विश्वमा कहीँ नभएको जिकिर गरे । नेपालको इतिहासमा प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण मन्त्री खनालले दिएर सरकार उल्टो गतिमा हिँडेको नेता शाहीको भनाई थियो ।

उनले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भनि दिएको अभिव्यक्ति गम्भिर राजनीतिक तथा भूराजनीतिक त्रुटी भएकाले उहाँ आफूले संसदमा आएर सच्याउनुपर्ने अडान दोहो¥याए ।

उनले भने, ‘सम्माननीय सभामुख महोदय अहिले पनि हाम्रो धारणा के छ भने प्रधानमन्त्रीले सीमा विवादबारे दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयोस । यो प्रधानमन्त्रीज्यूको लागि नै हो । यो हामी भन्दा बढि सत्ता पक्षका लागि नै हो । किनभने यो कुनै सत्ता र शक्तिको कुरा होइन । शासनको कुरा होइन यो । कुनै ऐनको कुरा होइन, यो भूभागको कुरा हो । अति संवेदनशील कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्