काठमाडौं । रौतहटमा ९० लाख बढीको फर्सीको बिउ बरामद भएको छ । नेपालबाट भारत निकासी गर्दै गरेको बिउ बुधवार साँझ जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा दिएको हो ।

अवैधरुपमा निकासी गर्न लागिएको सूचनाका आधारमा खटिएको प्रहरी र सशस्त्रको टोलीले बौधिमाई नगरपालिका९७ बाडा बंकुल टोलबाट ३२२ बोरो (१२ हजार ८८० किलो) फर्सीको बिउ बरामद गरेको हो । बिउका बोरा त्रिपालले छोपेर राखिएको अवस्थामा फेला परेका थिए । यसको अन्दाजी मूल्य ९० लाख १६ हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।
सामान बरामद गर्ने क्रममा स्थानीयवासीले केही समय अवरोध गरेका थिए । उनीहरूले प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेपछि ६ राउण्ड अश्रुग्या प्रहार गर्नु परेको थियो । झडपका क्रममा तीन जना प्रहरी र तीन जना स्थानीय पनि घाइते भएका छन् ।नियन्त्रणमा लिइएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।














