Logo
Logo

इतिहासकै ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा: ३९ हाइप्रोफाइलविरुद्ध १ खर्ब ६ अर्बको बिगो


0
Shares

दाबीकाठमाडौँ । धितोपत्र, बीमा र बैंकिङ कसुर गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपालको इतिहासकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा विशेष अदालतमा दर्ता भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामो समयको अनुसन्धानपछि ३९ जना हाइप्रोफाइल व्यवसायी, सञ्चालक तथा उच्चपदस्थ कर्मचारीहरूलाई प्रतिवादी बनाउँदै बिहीबार मुद्दा दर्ता गरेको हो।विभागले प्रतिवादीहरूविरुद्ध कुल १ खर्ब ६ अर्ब २ करोड ५० लाख १० हजार ७४७ रुपैयाँ बिगो दाबी गर्दै अभियोगपत्र दर्ता गरेको छ।

अदालतमा दर्ता भएको अभियोगपत्रमा प्रतिवादीहरूबाट दाबी गरिएको बिगोको दोब्बर जरिवाना र कैद सजायसमेत माग गरिएको छ। राजनीतिक आडमा वित्तीय घोटाला र जालसाजीपूर्ण कारोबारको सञ्जाल बनाएका विवादित व्यवसायी, ठूला व्यावसायिक घराना र नियामक निकायका पूर्वप्रमुखहरूसमेत यस मुद्दाको घेरामा परेका छन्।

यी हुन् आरोप लागेका संस्थाहरू
विशेष अदालतमा दर्ता भएको मुद्दामा मुख्य गरी निम्नलिखित संस्थाहरूका सञ्चालक, उच्चपदस्थ कर्मचारी र नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्षहरूले गैरकानुनी कारोबार गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाइएको छ:

हिमालयन रि–इन्स्योरेन्स लिमिटेड
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड
हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड
हिमालयन क्यापसर्व लिमिटेड
एचएलआई लार्ज क्याप फन्ड
हिमालयन इन्भेष्टमेन्ट बैंकरयस

अघि सरकार बनाउने र भत्काउनेसम्मको राजनीतिक पहुँच राख्ने भनिएका विवादस्पद व्यवसायी दीपक भट्ट, कोरोना महामारीमा थर्मल गनको कालोबजारी गरेर बदनाम भएका व्यवसायी सुलभ अग्रवाल र उनकी श्रीमती सुभी अग्रवालसहित ३९ जनामाथि गैरकानुनी कारोबारबाट सम्पत्ति शुद्धीकरण गरेको अभियोग छ।

मुख्य प्रतिवादीहरू र दाबी गरिएको बिगो

कसको कस्तो संलग्नता र कैफियत?

१. दीपक भट्ट र सुलभ अग्रवाल: समूहधितोपत्र बजारमा सेयर कर्नरिङ गर्ने र जगदम्बा ग्रुपको पैसा परिचालन गरेर धितोपत्रको मूल्य घटबढमा चलखेल गरी सम्पत्ति आर्जनमा केन्द्रित भएका दीपक भट्टलाई सबैभन्दा बढी अर्थात् २६ अर्ब ६३ करोडभन्दा बढी बिगो दाबी गरिएको छ।

भट्टलाई सम्पत्ति शुद्धीकरण गरेको आरोपमा गत चैत १९ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो र उनी हाल हिरासतमै छन्।त्यसैगरी, भट्टका साझेदार एवं जगदम्बा स्टिल्स्का सञ्चालक सुलभ अग्रवालसँग २५ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ। उनी नेपालको ठूलो व्यावसायिक घराना शंकर ग्रुपका उपाध्यक्ष हुन्।

उनकी श्रीमती सुभी अग्रवालसँग ३ अर्ब ९६ करोड र छोरा कृषिभ अग्रवालसँग ३२ करोड ८३ लाख ८० हजार २०२ रुपैयाँ ३२ पैसा बिगो मागदाबी गरिएको छ।

नक्कली अंशमुद्दाको कैफियत: सुलभको नाममा रहेको नेपाल रि–इन्स्योरेन्सको सेयर आफैँ उक्त कम्पनीको अध्यक्ष हुँदा बिक्री गर्न नमिलेपछि, काठमाडौँ जिल्ला अदालतमा नक्कली अंशमुद्दा दर्ता गरेर छोरा कृषिभको नाममा सेयर सारेर बिक्री गरिएको र उक्त रकम सुलभले अर्को जालसाजीपूर्ण कारोबारमा प्रयोग गरेको अनुसन्धानमा पाइएको छ।

२. मोर घराना र भृकुटी स्टक ब्रोकिङ: व्यवसायी ऋषिराज मोरले हिमालयन रि–इन्स्योरेन्सको रकम भृकुटी स्टक ब्रोकिङमा जम्मा गरी आफ्नो नाममा भुक्तानी लिएको र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य प्रभावित गरी व्यक्तिगत लाभ लिएको आरोप छ । उनीविरुद्ध ३ अर्ब ७८ करोडभन्दा बढी बिगो दाबी गरिएको छ।

यसैगरी अमित मोरले ऋषिराज मोरको तर्फबाट भृकुटीबाट प्राप्त गरेको १२ करोड ६ लाख २५ हजार रुपैयाँ र राजकुमार मोरले भृकुटी स्टक ब्रोकिङबाट सिधै प्राप्त गरेको २७ करोड ६९ लाख रुपैयाँलाई व्यक्तिगत बिगोको रूपमा दाबी गरिएको छ।भृकुटी स्टक ब्रोकिङ कम्पनीका अध्यक्ष रहेका सन्दीप चाचन अग्रवाल र भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालि समेतबाट १४ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ। शंकर ग्रुपकै अर्का सञ्चालक साहिल अग्रवालविरुद्ध ६ अर्ब ४ करोड रुपैयाँ शुद्धीकरण गरेको आरोप छ।

३. शेखर गोल्छासहितका अन्य प्रतिष्ठित व्यवसायीहरू: हिमालयन रि-इन्स्योरेन्सका संस्थापक अध्यक्ष एवं स्थापित व्यवसायी शेखर गोल्छासहित अन्य व्यवसायीहरू रोहित गुप्ता, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला, अमित मोर र राजीव मोरसमेतलाई २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ।सोही मुद्दाका अन्य प्रतिवादीहरूमध्ये उपासना पौडेल, मनिष कुमार, शिशिर गैह्रे र दीपक कुमार श्रेष्ठबाट संयुक्त रूपमा ६ अर्ब ४ करोड, राजबहादुर शाहबाट १ अर्ब ४१ करोड, रितेश प्रधानबाट ३७ करोड, सुमेर शमशेर जबराबाट १ अर्ब २७ करोड र सुवास बहादुर श्रेष्ठबाट ४५ करोड ९४ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

बीमा कम्पनीका सीईओहरू पनि तानिए

आशिष श्रेष्ठ, मृगेन्द्र नाथ रिमाल र सिद्धान्त झुनझुनवाला: ५९ करोड ७५ लाख रुपैयाँ

मनोज कुमार लाल कर्ण: ७ अर्ब २२ करोड रुपैयाँ

सुरेन्द्र थापा: ४ करोड ९० लाख रुपैयाँ

रामकुमार यादव (सीईओ, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स): ४ करोड २० लाख रुपैयाँ

प्रताप मान श्रेष्ठ (सीईओ, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स): २३ करोड ७३ लाख रुपैयाँनरेश कुमार रोका (सीईओ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स): ११ करोड ९० लाख रुपैयाँ

चिरायु भण्डारी (सीईओ, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स): ४० करोड ४९ लाख रुपैयाँ

शंकरलाल अग्रवाल: २१ करोड ७ लाख रुपैयाँ

नियामक निकायको मिलेमतोनियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्षहरू शरद ओझा र मदन दाहालमाथि समेत पदमा रहँदा गैरकानुनी कार्यमा सघाएको अभियोगमा ३ अर्ब ५० करोड ३० लाख रुपैयाँ बिगो दाबी गरिएको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको यो कदमसँगै वित्तीय क्षेत्र र सेयर बजारमा हुने नीतिगत भ्रष्टाचार एवं इन्साइडर ट्रेडिङविरुद्ध राज्यले अहिलेसम्मकै ठूलो एक्सन लिएको रूपमा यसलाई हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्