काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा वाग्मती प्रदेश सभापति पदका उम्मेदवार डा.अच्युतम लामिछानेले पार्टीभित्र ‘एक व्यक्ति, एक पद’ नीति लागू गर्न नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा जारी वाग्मती प्रदेश अधिवेशनका क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै डा। लामिछानेले उक्त नीति लागू भएमा वर्तमान पदाधिकारी तथा निर्वाचित प्रतिनिधिहरूको राजनीतिक भविष्य सीमित हुने र सक्रिय नेता–कार्यकर्तालाई निष्क्रिय बनाउने बताए । उनले पार्टीको तुलना विद्यालय र विश्वविद्यालयसँग गर्दै भने, “पार्टी संगठनभित्रै विचार, बहस र राजनीतिक विमर्शबाट नेतृत्व विकास हुन्छ र त्यही प्रक्रियाबाट तयार भएका व्यक्तिहरू जनप्रतिनिधिका रूपमा चुनावमा जान्छन् ।” उनले आफू पाँच वर्षका लागि मात्र सांसद बन्न नआएको स्पष्ट पार्दै पार्टीका विभिन्न पदहरूलाई राजनीतिक यात्राका ‘स्टेप’ वा ‘भ¥याङ’ का रूपमा लिनुपर्ने बताए ।
महामन्त्रीको उदाहरण दिँदै उनले भने, “तपाईँले हाम्रो महामन्त्रीलाई हेर्नुभयो भने उहाँ सांसद हुनुहुन्छ, महामन्त्री हुनुहुन्छ र मुख्य सचेतक पनि हुनुहुन्छ । यसलाई पद होइन, स्टेपको रूपमा लिनुपर्छ । यदि उहाँ सांसद नभएको भए महामन्त्री मात्र भएर सचेतक हुन पनि गाह्रो हुन्थ्यो । यो हाम्रो कर्म र खटाइले हुने कुरा हो ।”
लामिछानेले ‘एक व्यक्ति, एक पद’ नीतिले हालका सभापतिहरूलगायत प्रतिनिधिहरूलाई भविष्यमा कुनै पनि पदमा उठ्न नदिने बताए । उनले भने , “यो व्यवस्थाले निस्तेज पार्छ । अहिले प्रतिनिधिका रूपमा आउनुभएका साथीहरू कुनै पदमा हुनुहुन्छ भने पनि भोलि उठ्न पाउनुहुन्न भन्ने हो।”
रास्वपामा सांसदहरूलाई प्रदेश सभापति बन्न रोक्न खोजिएपछि डा। लामिछानेले यो असन्तुष्टि व्यक्त गरेका हुन् । यसअघि ‘एक व्यक्ति, एक पद’ को विषयमा विवाद हुँदा वाग्मती प्रदेश अधिवेशन रोकिएको थियो । रोकिएको अधिवेशन शनिबार काठमाडौंमा जारी छ र मतदान भइरहेको छ । प्रदेश सभापति पदमा डा। अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्रीबीच प्रतिस्पर्धा छ। डा। लामिछाने हाल वाग्मती प्रदेश सभापति समेत रहेका छन् ।














