Logo
Logo

दुई डिआइजी काठमाडौँ तानिए


0
Shares

काठमाडौं । मधेश प्रदेशमा घुमुवा परिचालन गरी अनुचित आर्थिकलाभ लिएको आरोप लागेका डिआइजी गोविन्द थपलियालाई काठमाडौँ उपत्यका कार्यालयमा सरुवा गरिएको छ । गृह मन्त्रालयले नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गर्दा थपलियालाई उपत्यका कार्यालयमा सरुवा गरिएको हो ।

एआइजी उमाप्रसाद चर्तुवेदीको संयोजकत्वमा छानबिन समिति बने पनि थपलियालाई कारबाही नगरी जोगाइएको आरोप छ ।

गृह मन्त्रालयका अनुसार मधेश र सुदूरपश्चिम प्रदेशमा कार्यरत डिआइजीहरूलाई कार्यसम्पादन तथा संगठनभित्र देखिएका विभिन्न विषयलाई ध्यानमा राखेर काठमाडौं तानिएको हो । मधेश प्रदेशमा पछिल्लो समय प्रहरी संगठनभित्र समन्वय र कार्यसम्पादनसँग सम्बन्धित विवादहरू देखिएका थिए ।

मधेश प्रदेशका डिआइजी थपलिया आर्थिक लेनदेनसँग जोडिएका विवादका क्रममा धनुषा र सप्तरीका जिल्ला प्रहरी प्रमुखले स्वेच्छिक सरुवा मागेका थिए भने रौतहट र बाराका प्रहरी प्रमुखसँगको असमझदारीका कारण स्पष्टीकरणसमेत सोधिएको थियो । थपलियाका घुमुवाले दुःख दिएपछि एसपी रुगम कुँवरसँग खटपट परेको थियो । गोपाल थापामगर र जयलाल यादवलाई घुमुवा खटाएर अनुचित आर्थिक लाभ लिएको आरोप लागेपछि विवाद आएका थिए । सागर राणा नाम गरेका वरिष्ठ सईको अडियो रेकर्ड नै सार्वजनिक भएको थियो ।

यसपछि धुनुषाका एसपी कुँवर डिआइजीको दबाब र घुमुवा सीमामा सामान छुटाउन गरेको ज्यादतिलाई सहन नसकेर सात महिनामै सरुवा मागेर हिडेका थिए । यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका डिआइजी ओमबहादुर राना कमजोर कार्यसम्पादनका कारण त्यहाँबाट सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले प्रहरी संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन डिआइजीहरूको जिम्मेवारी हेरफेर गरिएको जनाएको छ ।

स्रोतका अनुसार डिआइजी सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय पठाइएको छ भने डिआइजी ओमप्रसाद अधिकारीलाई मधेश प्रदेश प्रहरी कार्यालयको नेतृत्वको जिम्मेवारी दिइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत बढुवामा पेलेका भट्टराई लाई अहिलेको सरकारले पनि सुदूरपश्चिम पठाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत डिआइजी रानालाई भने प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्