काठमाडौं । नेकपा एमालेले कोशी र बागमतीपछि लुम्बिनी प्रदेशमा पनि चुनावी समीक्षा तथा पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन सम्पन्न भएको छ ।

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलको गृह प्रदेश लुम्बिनीमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट बिदा गरेर मात्र पार्टी पुनर्जागरण सम्भव हुने धारणा अधिकांश नेता-कार्यकर्ताले राखेका छन् ।
बिहीबार कपिलवस्तुको चन्द्रौटामा आयोजित भेलामा झन्डै एक सय नेता कार्यकर्ता सहभागी थिए । उनीहरूले स्थानीय तहदेखि केन्द्रसम्म पार्टी पुनर्गठन अनिवार्य रहेको बताए ।
अधिकांशले नेतृत्व परिवर्तनको पक्षमा खुलेर धारणा राखेका हुन् । विशेष गरी रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तुका नेताहरूले ओली मुख्य जिम्मेवार रहेको भन्दै उनलाई बिदा गर्नुपर्ने बताएका छन् । केहीले सिङ्गो सचिवालय नै जिम्मेवार रहेको मत राखेका थिए ।
सुझाव सङ्कलन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ सहित विष्णु पौडेल, शङ्कर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा र गोकर्ण विष्ट सहभागी थिए । प्रत्येक नेतालाई तीन मिनेट समय दिइएको थियो ।














