काठमाडौं । नेपाल सरकारले अमेरिका र इरानबीच आज हस्ताक्षर भएको ‘इस्लामाबाद समझदारीपत्र’को स्वागत गरेको छ ।परराष्ट्र मन्त्रालयले गत अप्रिल ८ मा घोषणा गरिएको युद्धविरामको स्वागत गरेको स्मरण गराउँदै अमेरिका र इरानका राष्ट्रपतिबीच भएको शान्ति सम्झौतामा हस्ताक्षरलाई कूटनीतिक प्रयासको सफल निष्कर्षका रूपमा लिएको जनाएको छ ।

नेपाल सरकारले पश्चिम एसियामा द्वन्द्व सुरु भएदेखि नै त्यहाँको अवस्थाको नजिकबाट अनुगमन गर्दै आएको पनि मन्त्रालयले जनाएको छ । उक्त द्वन्द्वले नेपालसहित विश्व अर्थतन्त्रमा व्यापक प्रभाव पारेको उल्लेख गर्दै शान्ति सम्झौताले पश्चिम एसियामा दीर्घकालीन शान्ति र स्थायित्व स्थापना गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको छ ।
त्यसैगरी, द्वन्द्वका कारण प्रभावित समुद्री यातायात तथा जलमार्ग सञ्चालनलाई पुनः सामान्य बनाउन पनि यो सम्झौता महत्त्वपूर्ण हुने नेपाल सरकारको विश्वास छ ।
नेपालले शान्ति प्रक्रियामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने विभिन्न देशहरूको योगदानप्रति गहिरो प्रशंसा व्यक्त गरेको छ। साथै, क्षेत्रीय तथा विश्वव्यापी शान्ति, स्थायित्व र सहकार्य प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायले गरेका सबै प्रयासप्रति आफ्नो समर्थन पुनः दोहोर्याएको छ ।














