
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक टेक्नोलोजी प्रयोग गरेर विशाल आइटी आर्मी तयार गर्ने बताएका छन् ।
शुक्रबार नेकपाको डिजिटल पार्टी सदस्यता नवीकरण तथा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आइटी आर्मी तयार गर्नुपर्ने नै आवश्यकता रहेको बताएका हुन् ।
‘हामीले अब एउटा आइटी सेना, विशाल फौज तयार गर्न सकिन्छ, तयार गर्नुपर्ने नै भयो’, उनले भने, ‘पार्टीलाई सुदृढ र विस्तार गर्न तथा नयाँ आवश्यकतासँग लड्ने बनाउन विशाल आइटी आर्मी चाहियो ।’
उनले आइटी आर्मी कम्युनिस्टहरूले मात्र बनाउन सक्ने भन्दै अरू वुर्जवाहरुले बनाउन नसक्ने बताए ।
‘त्यसकारण सोचलाई परिवर्तन गर्ने गरी जानुपर्नेछ । चुनावमा धरै खर्च भएको छ’, प्रचण्डले भने, ‘गत निर्वाचनमा सबै उम्मेदवारको हिसाब गर्ने हो भने समानुपातिक तर्फको पनि हिसाब गर्दा थुप्रो खर्च भयो । तर आइटीमा एक दुई करोड खर्च गर्न हात काम्यो ।’
उनले एउटै निर्वाचन क्षेत्रमा करोड खर्च गरे पनि आइटीमा खर्च गर्न नसकिएकाले चुनावी नतिजा राम्रो आउन नसकेको बताए ।














