Logo
Logo

बालकुमारीमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागुऔषध कारोबारी


441
Shares

काठमाडौं । काठमाडौंको बालकुमारीमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । उपत्यकामा लागुऔषध सप्लाई गर्ने गिरोहमाथि सूक्ष्म निगरानी राख्ने क्रममा लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले शनिवार ३०० ग्राम खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको हो ।

The current image has no alternative text. The file name is: fire.jpg

प्रहरीले पर्साको पटेर्वा सुगौली गाउँपालिका-४ का ३९ वर्षीय किशोर प्रसाद ओझैया, कैलालीको टीकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल र सप्तरीको राजगढ गाउँपालिका–३ का २० वर्षीय निरज कुमार मण्डललाई पक्राउ गरेको हो ।

प्रहरीले भारतको वासमतियाबाट काठमाडौं उपत्यकासम्म खैरो हेरोइन ल्याएर बिक्री गरिरहेको अवस्थामा बालकुमारी पुलमुनिबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार प्रहरीले नियन्त्रणमा लिन खोज्दा कारोबारीहरूले प्रहरी टोलीमाथि नै आक्रमण गरेर भाग्ने प्रयास गरेका थिए । सो क्रममा प्रहरीले चेतावनी स्वरूप २ राउण्ड हवाई फायर गरी रोकिन अनुरोध गर्दा समेत नरोकी भागेपछि प्रहरीले गोली चलाएको हो ।

प्रहरीको गोली लागेर पर्साका किशोर प्रसाद ओझैया घाइते भएका छन् । उनको दाहिने खुट्टाको घुँडामुनि एक राउण्ड गोली लागेको छ । घाइते ओझैयालाई तत्कालै उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको छ र उनको सोही अस्पतालमा उपचार भइरहेको  छ ।

पक्राउ परेका मुख्य योजनाकार ओझैया लागु औषध मुद्दाकै पुराना र क्रोनिक कारोबारी हुन् । उनी यसअघि लागुऔषध मुद्दामा ३ वर्ष कैद र एक लाख चार हजार रुपैयाँ जरिवाना भुक्तान गरेर गत २०८२ साल पुस १७ गते मात्रै नख्खु कारागारबाट छुटेका थिए । कारागारबाट छुटेको ६ महिना नपुग्दै उनी पुनः ठूलो परिमाणको खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूको साथबाट अवैध लागु औषध खैरो हेरोइन ३०० ग्राम र ४ थान मोबाइल बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्