
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा व्यवस्थापन, पुनर्योग र उत्तरपुस्तिका संरक्षणमा गम्भीर त्रुटि भएको दाबी गर्दै छानबिनको माग गरेको छ ।
नेविसंघ अध्यक्ष करुणा कटुवालले विज्ञप्ति जारी गरेर एसईई नतिजा प्रकाशनका क्रममा पर्याप्त परीक्षण र प्रमाणीकरण नगरी हतारमा डाटा प्रविष्टि गर्दा हजारौं विद्यार्थीको वास्तविक शैक्षिक मूल्यांकन प्रभावित भएको दाबी गरेकी हुन् ।
विज्ञप्ति अनुसार हालसम्म पुनर्योगको नतिजा सार्वजनिक भएकामध्ये ५.६३ प्रतिशत अर्थात् १ हजार ५ सय ५९ भन्दा बढी विद्यार्थीको ग्रेडमा उल्लेख्य परिवर्तन भएको छ ।
केही विद्यार्थीले उत्तरपुस्तिकामा ७० अंक प्राप्त गरे पनि कम्प्युटरमा त्रुटिवश ७ अंक मात्रै प्रविष्ट भएको तथा सुरुमा अनुत्तीर्ण भनिएका विद्यार्थीले पुनर्योगपछि २.० सम्म जीपीए प्राप्त गरेको उल्लेख गर्दै नेविसंघले यसलाई प्रारम्भिक नतिजा संकलन र डाटा प्रविष्टिमा भएको गम्भीर कमजोरीको संकेत भनेको छ ।
नेविसंघले पुनर्योगका लागि आवेदन दिएका करिब १ हजार विद्यार्थीको उत्तरपुस्तिका नै फेला नपरेको, त्यसका कारण नतिजा आउन ढिलाइ भएको र यसबाट विद्यार्थीमा मानसिक तनाव तथा शैक्षिक भविष्यप्रति अन्योल सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेविसंघले उत्तरपुस्तिकाको द्रुत खोजी गरी रोकिएका सम्पूर्ण नतिजा तत्काल सार्वजनिक गर्न, डाटा प्रविष्टि तथा अंक मिलान प्रणालीमा सुधार गर्न, उत्तरपुस्तिका व्यवस्थापनमा लापरबाही गर्ने जिम्मेवार अधिकारीमाथि छानबिन गरी कारबाही गर्न तथा प्रभावित विद्यार्थीका लागि विशेष वैकल्पिक परीक्षा र भर्ना अवसर सुनिश्चित गर्न माग गरेको छ । साथै पुनर्योग शुल्क फिर्ता लगायतका राहत व्यवस्था गर्न पनि संघले माग गरेको छ ।















