
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ । आयोगले आज दिउँसो २ बजेबाट सुरु हुने प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गतका नर्वाचन कार्य तालिका सार्वजनिक गरेको हो ।
उम्मेदवारी मनोनयनका लागि फाराम वितरण सोमबार दिउँसो १ बजेदेखि सुरु हुनेछ । उम्मेदवारी मनोनयनपत्र दर्ता सोमबार नै दिउँसो २ बजेदेखि ४ बजेसम्म हुने कार्य तालिकामा उल्लेख छ ।
उम्मेदवारहरूको प्रारम्भिक नामावली सोमबार बेलुका ६ बजे सार्वजनिक गरिनेछ भने उम्मेदवारविरुद्ध दाबी तथा विरोध दर्ता गर्ने समय बेलुका ६ बजेदेखि ७ बजेसम्म तोकिएको छ ।
दाबी तथा विरोध परेका उम्मेदवारबारे जाँचबुझ सोमबार बेलुका ७ बजेदेखि ९ बजेसम्म गरिनेछ भने उम्मेदवारी फिर्ता लिने अन्तिम समय राति सवा ९ बजेसम्म निर्धारण गरिएको छ ।
कार्य तालिकाअनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यको निर्वाचनका लागि पहिलो चरणको मतदान मंगलबार असार ९ गते बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
महाधिवेशनमा सभापति पदका लागि ५१ हजार र अन्य पदाधिकारीका लागि ४१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । केन्द्रीय सदस्यको उम्मेदवारी शुल्क २१ हजार रुपैयाँ तोकिएको छ । सभापतिका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक रहनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै, पदाधिकारीका लागि १ जना प्रस्तावक र २१ जना समर्थक चाहिनेछ । केन्द्रीय सदस्यका लागि १ जना प्रस्तावक र २१ जना समर्थक रहनुपर्ने रास्वपाले जनाएको छ । मतगणना तथा मत परिणामको घोषणा मतदान सम्पन्न भएको दुई घण्टापछि गरिने तालिकामा उल्लेख छ ।















