
काठमाडौं । नेपाली राजनीतिक वृत्तमा युवापुस्तामाझ लोकप्रिय मानिएका तीन नेता प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा पहिलोपटक एकै मञ्चमा देखिने भएका छन्।
चितवनमा आजबाट सुरु हुने रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बालेन, रवि र गगन सँगै उपस्थित हुने भएका हुन् । उद्घाटन समारोहमा सभापति लामिछाने र प्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता शाहले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यस्तै राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेनसँगै एउटै फ्लाइटमा चितवन पुगिसकेका छन् । पछिल्ला केही वर्षयता परम्परागत राजनीतिक शक्तिप्रति बढ्दो असन्तुष्टि र नयाँ नेतृत्वप्रतिको आकर्षणका कारण बालेन, रवि र गगन युवापुस्तामाझ चर्चित अनुहारका रूपमा स्थापित भएका छन्।
रास्वपाले आफ्नो पहिलो महाधिवेशनलाई संगठन विस्तार, वैचारिक दिशा तय गर्ने र आगामी निर्वाचनको रणनीति निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ । पार्टीका विभिन्न तहबाट आएका प्रतिनिधिहरूको सहभागितामा नेतृत्व चयन, विधान संशोधन तथा भावी कार्यदिशाबारे छलफल हुने कार्यक्रम छ ।
तीनै नेताको एउटै मञ्चमा उपस्थितिले राजनीतिक वृत्तमा विशेष चासो सिर्जना गरेको छ । विशेषगरी वैकल्पिक राजनीति, सुशासन, युवा सहभागिता र राज्य व्यवस्थापनका विषयमा उनीहरूको धारणा सुन्न महाधिवेशन सहभागी तथा सर्वसाधारण उत्सुक देखिएका छन् ।
रास्वपाको महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरू, नागरिक समाजका प्रतिनिधि, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई समेत आमन्त्रण गरिएको छ। उद्घाटन सत्रमा हुने सम्बोधनलाई महाधिवेशनकै प्रमुख आकर्षणका रूपमा हेरिएको छ । आज दिउँसो २ बजेदेखि सुरू हुने महाधिवेशन मंगलबारसम्म चल्नेछ ।














