Logo
Logo

भविष्य हराएको मानिस


भुपेन्द्र थापा ‘माधव’

378
Shares

भविष्य हराएको मानिस
आकाशतिर होइन,
आफ्नै पैतालामुनिको धर्ती खोजिरहन्छ ।
उसका सपनाहरू
हावाले उडाएका पातझैँ
गल्ली–गल्ली भौंतारिन्छन्।

हिजोका उज्याला प्रतिज्ञाहरू
आज धुवाँ बनेर हराएका छन्,
विश्वासका महलहरू
आँधीले बगाएका बालुवाका घरझैँ
भत्किएका छन्।

ऊ हाँस्छ,
तर त्यो हाँसोमा
मनको उज्यालो हुँदैन।
ऊ बाँच्छ,
तर प्रत्येक दिन
आफ्नै अस्तित्वसँग हारिरहेको हुन्छ।

रातले उसको निद्रा चोर्छ,
बिहानले उसको आशा।
समयले उसको उमेर मात्र होइन,
उसको भविष्य पनि चोरेको हुन्छ।

तर,
ए भविष्य हराएको मानिस!
याद गर–
अँध्यारोले कहिल्यै
सूर्यलाई सधैंका लागि रोक्न सकेको छैन।
बाँझो देखिने जमिनबाट पनि
कहिलेकाहीँ हरियो पालुवा उम्रन्छ।

त्यसैले
हारेर होइन,
फेरि उठेर हिँड।
किनकि भविष्य
कतै हराएको वस्तु होईन,
यो त
साहस, संघर्ष र विश्वासले
फेरि निर्माण गरिने
मानिसकै आफ्नै सिर्जना हो।

प्रतिक्रिया दिनुहोस्