Logo
Logo

कालो छाया


प्रकाशचन्द्र खतिवडा

189
Shares

म जीवनको हिसाब किताब खोज्दै छु
अस्मिता लुट्ने लुटाहा संग
उ क्षम्य छैन
बाँधेर पाता फर्काउ
छेदन गरि देउ लिङ्ग
ता कि पीडाले मरोस तड्पिदै उ ।

वाटिका शान्त छैन
जसरी म अशान्त छु
पोखरीमा छालहरु उठ्छन
मेरो विद्रोह संग एकाकार हुनलाई
म आक्रोश पोख्छु
पक्षपातीय कानुनको दफा उपदफा च्यात्दै ।

मलाई पातकीको आरोप लगाएर
पानी माथिको ओभानो बन्छ ऊ
नारी मुक्तिको बहस गर्छ
अनि लुट्छ नारीकै इज्जत
म पातकी हैन
उ पातकी हो
पुरुष साम्राज्यको हुंकार बोकी
डुक्रन्छ साँढे गोरु जस्तो ।

पन्यूँ तताई डाम्नु पर्ने
चार पाटा मुढी डाँडो कटाउनु पर्ने
शभ्य समाजको कलङ्क हो उ
उसलाई सामाजिक बहिष्कार गर्नु पर्ने
तिर्खा लागी पानी माग्दा
तुरुक्क पिसाब दिनु पर्ने ।

म कु्रर बनेकी छु
मेरो क्रुरताको सीमा छैन
जल्लाद हार्न सक्छ
म हार्ने छैन
मेरो अस्मिता
जिजीविषा संग गाँसिएको छ
म खोजिरहेकी छु
मेरो जीवनको आजादी
मैले उन्मुक्तिको गीत गाउनै छ
खुला आकाशको विचरण गरे पछि ।

म घृणा गर्छु
उसको सर्वसत्तावादी सोच प्रति
म खेद प्रकट गर्छु
उसको व्यभिचारी सोच प्रति
मैले आकाशको तारा टिप्नु छ
जून संग लुकामारी खेल्दै
म प्रश्न गर्छु झुल्के घामलाई
आज ग्रहणले खान्छ खादैन तिमीलाई ?

दिउँसै रात पर्छ
धरतीमा सन्नाटा छाउँछ
म अन्धकार चिर्नैका लागि
कालो छायाको प्रतिकार गर्दै
औँशीको रातलाई थप्पड हानि रहेछु ।

सुन्दरहरैंचा -०६, दुलारी, मोरङ
९८४२०७३५२५

प्रतिक्रिया दिनुहोस्