
विश्वमा आएको परिवर्तनको रापतापले दक्षिण एशिया विगतभन्दा बढी प्रभावित हुन थालेको छ । विशेष गरी भारतको द्रुत आर्थिक विकास, सैन्य शक्ति वृद्धिका अलावा ब्रिक्स देशहरूसँगको सामिप्यताले नयाँ घटनाहरू देखिन थालेको छ । शताब्दीऔंदेखि विश्वभर प्रभुत्व बनाइआएका बेलायत, अमेरिका, फ्रान्सलगायत पश्चिमा देशहरूको सामरिक स्वार्थले असरहरू देखिइरहेको छ ।
भारतलाई पश्चिमाहरूले उदीयमान नयाँ प्रतिस्पर्धीका रूपमा देख्न थालेपछि दक्षिण एशियाली क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू देखिन थालेको छ । विशेष गरी पाकिस्तानप्रति विगतमा कठोर बनेका अमेरिकालगायत पश्चिमा देशहरूले लचकता मात्र अपनाएका छैनन् सम्बन्ध कस्दै लगेका छन् ।
पाकिस्तानमा सबैभन्दा शक्तिशाली त्यहाँका सेनापति असीम मुनिरको सन् २०२५ को अमेरिका भ्रमण र त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको लन्च बैठकले यसलाई अझ सतहमै ल्याइदिएको छ । चीनले प्रभाव बढाउँदै लगेको पाकिस्तानमा त्यहाँको सेना टाढिएर अमेरिकासँग नजिकिएको छ अहिले । इरान युद्धमा त पाकिस्तानलाई अमेरिकाले मध्यस्थकर्ता नै बनायो ।
सेनापति र उच्च सैनिक अधिकृतहरू इरान युद्ध अन्त गरी अमेरिकासँग सम्झौता गराउन सक्रिय भए । यी घटनाहरू केबल खाडी क्षेत्रमा युद्धपछि शान्ति ल्याउनका लागि मात्र विकास थिएनन् दक्षिण एशियाको राजनीतिमा भारतलाई चेक एन्ड ब्यालेन्समा राख्न अमेरिकी रणनीति पनि देखियो ।
इरान युद्धले तेलको मूल्य वृद्धिले मारमा पर्यो भारत । रुससँग तेल खरिद गर्दा जुन लाभ लिइरहेको थियो त्यो अमेरिकाले रुचाएन । ट्रम्पले भारतलाई लक्षित गरी टेरिफ नै लगाए । रुससँग तेल खरिद घटाउँदै लान थाल्यो । तर, इरान युद्धपछि अमेरिकाले नै केही महिनाका लागि रुसी तेल खरिद गर्दा प्रतिबन्ध नलगाउने घोषणा ग¥यो ।
युक्रेन युद्धमा भारतको तटस्थ भूमिकाप्रति अमेरिकाभन्दा बढी युरोपेली देशहरू असन्तुष्ट रहे । उनीहरूले मौका पाउँदा भारतमाथि प्रश्न तेर्साए । यो प्रश्न यसै महिना फिनल्यान्डको भ्रमण गर्दा भारतका विदेशमन्त्री एस. जयशंकरसँग सोधे ।
उनले भने, ‘युरोप यस्तो हतियार बेच्छ जुन भारतमाथि हमलामा प्रयोग हुने गरेको छ । यो अहिले मात्र होइन धेरै धेरै वर्ष देखि हुँदै आएको छ । हामी भारतीयले कहिले पनि यूरोपको लागि खतरा पैदा गरेका छैनौँ ।’ प्रश्नकर्ताबाट बारम्बार रुसी तेल खरिद गरेको प्रश्न उठेपछि पाकिस्तानको नाम नलिई भारतमाथि हमला हुने हतियार पाकिस्तानले युरोपेली देशबाट पाउने गरेको खुलेरै बोले । रुसी तेल खरिद गर्नुपर्ने बाध्यता समेत युरोपेली देशहरूले पैदा गरेको यथार्थ तथ्य खुलाए ।
वास्तवमा, भारतले आयात गर्ने तेलको खेल गहिरो छ । जयशंकरले भनेजस्तै युक्रेन युद्धपछि युरोपेली देशहरू मध्यपूर्वबाट खरिद गर्न थाले र भारत विकल्पका रूपमा सस्तो, सजिलो र सुलभ तरिकाले प्राप्त गर्न सकिने उत्पादककोमा पुग्यो । जुन रुस थियो ।
तेलको खेलभित्रको राजनीति
भारतसँग पेट्रोलियम पद्धार्थ र ग्याँसमा निर्भर हुनुपरेकाले उसमाथि भएको तेलको खेलको सिधा असर नेपालमाथि पनि पर्दै आयो । बितेका केही महिना नेपालले तेलको मूल्यवृद्धिमा रेकर्ड नै कायम ग¥यो । ग्याँस सहज रूपमा आपूर्ति भएन । आधा सिलिण्डरको भरमा उपभोक्ता पर्न बाध्य भए ।
भारतमा नेपालमा भन्दा बढी समस्या थियो । पटक पटकको मूल्यवृद्धिले उपभोक्ता मारमा परे । यसले मोदी सरकारको लोकप्रियतामा समेत नकारात्मक असर गर्न पुग्यो । यसबीच भारतमा सरकार विरोधी ठुला आन्दोलन चर्काउने प्रयास पनि भएका थिए । जुन सफल हुन सकेन । तेलको खेलबाट भारतको वर्तमान सत्ताको जग हल्लाउने रणनीतिहरू प्रकट नभएका होइनन् ।
अमेरिकाले भारतलाई तेलमा मध्यपूर्वको परम्परागत खरिद बजारबाट अन्यत्र मोडिन बाध्य पारिदियो । भारत रुसतर्फ ध्यान दिन पुग्यो । जब भारतले सस्तो मूल्यमा रुससँग खरिद गर्दै गयो तब टारिफको अस्त्र प्रयोग गरेर अन्यत्र बजारतर्फ मोड्न थाल्यो ।
जयशंकरले फिनल्यान्डमा प्यानल छलफलमा स्पष्ट शब्दमा भारतले मध्यपूर्वमा नै तेल बढीभन्दा बढी हिस्सा खरिद गर्दै आएको, रुससँग खासै तेल खरिद नगरेको र परिस्थितिले किन्नुपर्ने बन्नेको बताएका थिए ।
उनले भनेका थिए, ‘‘सस्तो र सहज रूपमा पाउने तेल नै किन्ने हो ।’’ तर, इरान युद्धले तेलको मूल्य आकासियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त खुलेरै तेलको मूल्यवृद्धिबाट अमेरिकाले ठूलो धनराशी कमाएको बताएका थिए । यही मौंकामा अमेरिकाले अरब मुलुकहरूमा अरबौँ डलरका अत्याधुनिक हतियार विक्रीको सम्झौता पनि गर्न सक्यो । उसले दोहोरो लाभ लियो युद्धबाट ।
इरान युद्धमा ‘स्ट्रेट अफ हर्मुज’को अवरोध आफूलाई पर्न नदिन भारतले कूटनीतिक प्रयासहरू गर्दै आयो । उसले इरानसँग सिधा सम्पर्क बनाएर जहाज सुचारु गर्ने प्रयासहरूमा केही सफलता पनि हासिल ग¥यो । तर, भारतका नाविकहरू अमेरिकी हमलामा सबैभन्दा बढी पर्न थाले । कतिपय मारिए । भारतका जहाजहरूमाथि आक्रमण पनि भए । अमेरिकाले भने इरानको सत्ता पल्टाउने प्रयास असफल भएपछि पाकिस्तानलाई मध्यस्थकर्ता बनाएर युद्धविराम गरायो ।
युद्ध अन्तका लागि सम्झौताका लागि पनि पाकिस्तानलाई नै मध्यस्थकर्ता बनायो । पाकिस्तानलाई भरपर्दो क्षेत्रीय शक्तिका रूपमा प्रस्तुत गर्ने अमेरिकी रणनीति स्पष्ट देखियो । यो घटनाको एकवर्षअघि सन् २०२५ मा पाकिस्तानी सैनिक प्रमुख असीम मुनिरले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग लन्च बैठक गरेका थिए । जबकि, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई क्यानडामा जी सेभेन समिटका दौरान तय भएको साइडलाइन भेटवार्तामा नबसी वासिङ्टनमै भेटका लागि आउन भने ।
मोदीले केही समय ट्रम्पसँग संवाद नै बन्द गरिदिएका थिए । पछि फेरि संवाद चल्न थाल्यो । तर, अमेरिकाले अनेकन अस्त्र फालेर भारतलाई अप्ठ्यारो पार्दै आयो ।
हतियारको खेल
भारत र पाकिस्तानबीच सन् २०२५ मा चार दिन चलेको युद्धले हतियारको प्रयोग र प्रदर्शनहरू पनि भए । यो घटनापछि दुवै देश हतियारको विकास र आधुनिकीकरणमा सक्रिय भए । भारतले मेक इन इन्डिया अन्तर्गत विभिन्न देशसँग मिलेर हतियार उत्पादन गर्दै आएकोमा झन् विस्तार गर्न थाल्यो ।
उसले रुससँग मिलेर ब्रमोस मिसाइल उत्पादन गर्दै आएको छ । रुससँग नै मिलेर एके २०३ मेशिन गन पनि उत्पादन थालेको छ । फ्रान्स, इजरायल र अमेरिकासँग पनि मिलेर हतियार निर्माण गर्दै आएको छ ।
रुससँग खरिद गरेको मिसाइल प्रतिरक्षा प्रणाली एस ४०० को त मोदीले पाकिस्तानसँगको युद्धपश्चात् खुलेर प्रशंशा गरेका थिए । पाकिस्तानले पनि अमेरिका, स्पेन, टर्की, चीनलगायत देशहरूबाट खरिद गरेको हतियारको क्षमता खुल्यो ।
पाकिस्तानले सन् २०२४ मा युरोपेली देशहरू स्पेन र बेलायतबाट पनि ठूलो परिमाणमा हतियार खरिद गरेको तथ्याङ्क छ । उसले त्यतिबेला चीनबाट भन्दा निकै गुणा बढी स्पेनबाट हतियार खरिद गरेको थियो । उसले टर्कीबाट ड्रोन र रक्षा प्रविधि प्राप्त गरेको छ जसको प्रयोग भारतसँग केही दिन चलेको युद्धमा प्रयोग भयो । नेदरल्याण्डबाट विशेष किसिमको हतियार सामाग्री प्राप्त गरेको थियो विगतमा । पाकिस्तानले आधुनिक हतियार प्रविधि समेत यूरोपका बलिया देशहरूबाट पाउन थालेपछि भारतको असन्तुष्टि जयशंकरमार्फत् फिनल्यान्डमा व्यक्त भएको हो ।
त्यसैले उनले युरोपेली देशहरूको पाकिस्तान मामलामा दोहोरो चरित्रप्रति प्रश्न उठाए । अमेरिकाले पाकिस्तानसँग सन् २०२२ मै झन्डै आधा अर्ब डलरको लडाकु विमानसम्बन्धी सम्झौता गरेको थियो । विगतमा आतंकवादविरुद्धको युद्ध नाम दिएर पाकिस्तानलाई अरबौँ डलरको सैन्य सहयोग गरेको थियो । युद्ध र शान्तिको नाममा हतियारका अनेकन खेलहरु चल्दै आएका छन् जसले विश्व राजनीतिमा त प्रभाव पारिहाल्छ दक्षिण एशियाको क्षेत्रीय राजनीतिमा पनि ठूलो असर पार्दै आएको छ ।
क्षेत्रीय शान्तिमा असर
युवा जनसंख्या, तिव्र आर्थिक वृद्धि र सैन्य शक्ति आर्जनका दृष्टिले भारतले प्राप्त गरेको सफलताहरूले विश्व व्यवस्थामा परिवर्तनहरू देखिन थालेको छ । कुनैबेला अमेरिका र युरोपेली देशहरूसामु निकै कमजोर देखिने भारत अहिले उनीहरूसँग प्रतिस्पर्धी बन्न थालेको छ ।
जसका कारण उसले विभिन्न कोण र आसपासबाट प्रतिस्पर्धीबाट चुनौती भोग्न थालेको छ । युक्रेन युद्धको लाभ भारतले लिएको यथार्थ हो । तर, इरान युद्ध उसका लागि हानी बन्यो । अर्थतन्त्रमा ठूलो चुनौती आयो । यसपछिको घटनाले भारतलाई क्षेत्रीय राजनीतिमै अलमलिन बाध्य पार्ने रणनीतिहरू देखिएका छन् । पाकिस्तानप्रति अमेरिकाको घनिष्ठ बन्दै गएको सम्बन्ध यसैको उपज हो ।
भविष्यमा भारतले पाकिस्तानसँग अझ बढी टकराब गर्नुपर्ने परिस्थिति निर्माण गरिँदै छ । यसको असर सिङ्गो दक्षिण एशियामा पर्न सक्छ । नेपाली राजनीति पनि यसबाट मुक्त हुनेछैन ।














