काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा मन्त्री यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सीप प्रमाणीकरण (एसभिपी) प्रक्रियालाई स्थगन गर्न विशेष आग्रह गरे । साथै, उक्त प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र भिसा प्रक्रिया यथावत् अगाडि बढाइयोस् भन्ने विषयमा पनि उनले विशेष अनुरोध गरे ।
हाल साउदी अरब जान तयारी अवस्थामा रहेका नेपाली श्रमिक सीप प्रमाणीकरण प्रक्रियासम्बन्धी अन्योलका कारण समस्यामा परेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै मन्त्री यादवले श्रमिकको रोजगारीमा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्न समेत आग्रह गरे । उनले सीप प्रमाणीकरण (एसभिपी) प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्नेमा जोड दिए ।
सो अवसरमा राजदूतले साउदी सरकारसँग आवश्यक परामर्शपश्चात् यस सम्बन्धमा थप जानकारी उपलब्ध गराइने जानकारी गराउनुभएको श्रमन्त्रीको सचिवालयले जनाएको छ ।














