काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ । चुनावी परिणामको पुनः अध्ययनपछि यसअघि सार्वजनिक भएको सूचीमा रहेका २ जना सदस्यको नाम हटाउँदै रास्वपाले उनीहरूको ठाउँमा नयाँ सदस्यलाई निर्वाचित घोषणा गरेको हो ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठको ठाउँमा ध्रुवकुमार थापामगर निर्वाचित भएका छन् । त्यस्तै प्रादेशिक (भूगोल)तर्फ गण्डकी प्रदेशबाट निर्वाचित घोषणा गरिएका सोम शर्माको ठाउँमा पूजा बास्तोला निर्वाचित भएकी छन् ।
आयोगले महाधिवेशन निर्वाचन कार्यविधि–२०८३ बमोजिम मत परिणाम, उम्मेदवारी दर्ताका कागजात तथा सम्बन्धित प्रमाणहरूको पुनः अध्ययन गर्दा सूचीमा त्रुटि भएको निष्कर्ष निकालेपछि संशोधन गरिएको जनाएको छ ।
महाधिवेशनपछि केही उम्मेदवारले धेरै मत प्राप्त गर्दागर्दै पनि क्लस्टर व्यवस्थापनमा भएको त्रुटिका कारण आफूहरू निर्वाचित हुन नसकेको भन्दै गुनासो गरेका थिए । त्यसपछि निर्वाचन आयोगले विस्तृत अध्ययन गरी चुनावी परिणाम सच्याउँदै संशोधित सूची सार्वजनिक गरेको हो ।














