काठमाडौं । देशका सबैजसो ठाउँमा पानी परेको छ । पश्चिमका केही जिल्लामा बाढीको जोखिम छ । पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै कास्की लमजुङ, दाङ र सिन्धुपाल्चोकमा पानी परेको छ ।

पछिल्लो ६ घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै ६७ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै दाङ र सिन्धुपाल्चोकमा ४० मिलिमिटर भन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँके, बर्दिया र कैलाली भएर बहने साना नदीमा बाढी बढीरहेकोले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई आज दिनभर सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ ।
आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश तथा बागमती प्रदेशको पहाडी भागका एक–दुई ठाउँमा पनि ठूलो वर्षाको सम्भावना रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ ।
हिजोदेखि नै पानी पर्नेक्रम शुरु भएको हो । गएको असार ५ गते पूर्वी भागबाट प्रवेश गरेको मनसुन हिजोदेखि देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । औसत मिति जुन १३ तारिखभन्दा ६ दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन देशभर फैलन १२ दिन लागेको हो । सामान्यतया नेपालमा प्रवेश गरेपछि देशभर फैलन एक हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेपछि केही थप समय रोकिएको हो ।
अब भने देशका सबै भागमा पश्चिमी वायुको प्रभाव हटेर मनसुनको प्रभाव शुरु भएको छ ।














