काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजारभन्दा बढी सदस्य रहेको भन्ने विषयमा स्पष्टिकरण दिँदै ती व्यक्तिहरू आधिकारिक पार्टी सदस्य नभएको जनाएको छ। पार्टीले महाधिवेशनमा प्रस्तुत भएको विवरण ‘कच्चा तथ्याङ्क’ मात्र भएकाले त्यसबाट भ्रम सिर्जना भएको स्वीकार गरेको छ।

महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार महाधिवेशनमा समावेश गरिएको तथ्याङ्क डिजिटल सदस्यता प्रणालीमा दर्ता भएका प्रारम्भिक आवेदनहरूको विश्लेषण मात्र थियो। ती विवरण प्रमाणीकरण भएर स्वीकृत भएका आधिकारिक सदस्यहरूको अभिलेख नभएको रास्वपाले स्पष्ट पारेको छ।
पार्टीका अनुसार सदस्यताका लागि डिजिटल प्रणालीमा जोसुकैले आवेदन दिन सक्ने व्यवस्था भए पनि नागरिकता वा अन्य आधिकारिक कागजातबाट प्रमाणीकरण भएपछि मात्र सदस्यता स्वीकृत हुने कानुनी व्यवस्था छ।
रास्वपाले १८ वर्षभन्दा कम उमेर देखिनुका पछाडि प्राविधिक त्रुटिहरू जिम्मेवार रहेको जनाएको छ। वि।सं। र ई।सं। ९द्यक्रब्म्० छनोटमा भएको गल्ती, जन्ममिति प्रविष्ट गर्दा भएको टाइपिङ त्रुटि तथा कतिपय आवेदकले जन्ममितिको सट्टा हालकै मिति प्रविष्ट गरेका कारण प्रणालीमा उमेर कम देखिएको विज्ञप्तिमा उल्लेख छ।
पार्टीले हालसम्मको सदस्यता विवरणसमेत सार्वजनिक गरेको छ। रास्वपाको प्रणालीमा ५ लाख २३ हजार ४६५ आवेदन दर्ता भएकोमा ३ लाख ९० हजार ११२ जनाको मात्रै आधिकारिक कागजातका आधारमा प्रमाणीकरण भइसकेको छ। बाँकी आवेदन अझै प्रमाणीकरणको प्रक्रियामै रहेको जनाइएको छ।
यस घटनालाई गम्भीर रूपमा लिँदै रास्वपाले सदस्यता प्रणालीमा सुधार गर्ने प्रतिबद्धता पनि जनाएको छ। अबदेखि १८ वर्षभन्दा कम उमेर देखिए आवेदन स्वतः रोक्ने, प्रमाणीकरण भएका अभिलेख पुनः परीक्षण गर्ने, १८ वर्षमुनिका व्यक्ति भेटिए सदस्यता तत्काल खारेज गर्ने तथा वि।सं।–ई।सं। सम्बन्धी प्राविधिक त्रुटि हटाउने गरी प्रणाली परिमार्जन गरिने पार्टीले जनाएको छ।
रास्वपाले प्रमाणीकरण नभएको ‘कच्चा तथ्याङ्क’ महाधिवेशनको प्रतिवेदनमा समावेश हुँदा भ्रम फैलिएकोमा दुःख व्यक्त गर्दै प्रचलित कानुन र बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्ष पूरा गरेका नेपाली नागरिकलाई मात्रै पार्टी सदस्यता दिने व्यवस्थाप्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः स्पष्ट पारेको छ।














