Logo
Logo

थमन विक हत्या प्रकरण : एमाले पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैद सजाय


504
Shares

काठमाडौं । उच्च अदालत जनकपुरले मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई साङ्घातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय तोकेको छ ।

The current image has no alternative text. The file name is: laxmi-koire.jpg

कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले केही आरोपितहरुलाई सफाइ दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै कोइरीको हकमा पाँच वर्ष कैद सजाय हुने फैसला सुनाइएको हो ।
जिल्ला अदालत महोत्तरीले मङ्सिर, २०८० मा कोइरी सांसद पदमा बहाल रहेका बेला उनी लगायतलाई आरोपबाट सफाइ दिएको थियो ।

मधेश आन्दोलनका बेला २५ भदौ २०७२ महोत्तरीमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो, त्यसक्रममा सशस्त्र प्रहरी बलका असई थमन विकलगायत सख्त घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि एम्बुलेन्समा राखेर जिल्ला अस्पताल जलेश्वर लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जनकपुर पठाइएको थियो । 

उनीहरू जलेश्वरबाट जनकपुर जाँदै थिए । महोत्तरीको सनोखडामा अप्ठेरो कच्ची बाटोमा एम्बुलेन्स अघी बढ्न सकेन । एम्बुलेन्सलाई मोटरसाइकलमा आएका आन्दोलनकारीहरुले पछ्याइरहेका थिए । एम्बुलेन्स रोकिएपछि उनीहरू त्यहाँबाट निस्केर खेतमा लुक्न गएका थिए । त्यसपछि आन्दोलनकारीहरुले लुकेको ठाँउबाट निकालेर घाइतेहरूलाई साङ्घातिक आक्रमण गरेका थिए ।

हत्याको आरोपमा पक्राउ परेकाहरूले आक्रमणमा संलग्नहरू रहेको भनी लक्ष्मी महतो लगायतको नाम समेत लिएका थिए । मुद्दा चलेपछि महतो फरार भए, फरार अवस्थामा नै उनी एमालेमा प्रवेश गरे र महोत्तरी–१ बाट २०७९ सालमा सांसद निर्वाचित भएका थिए । 

लक्ष्मी महतो कोइरी फरार अवस्थामा नै पटकपटक प्रतिनिधिसभा बैठकमा उपस्थित भएका थिए । उनी सांसद पदमा रहेकी बेला  २८ मङ्सिर, २०८० मा जिल्ला अदालतले उनीलगायत केहीलाई सफाइ दिएको थियो, त्यसपछि उनी प्रतिनिधिसभामा सहज रूपमा उपस्थित हुन थालेका थिए ।

जिल्ला अदालतले घटनास्थलमा रहेका अरू आरोपितहरूको बयानको साटो साक्षीहरूको बयानलाई आधार मानेर उनलाई सफाइ दिएको थियो । उच्च अदालत जनकपुरले त्यसलाई उल्ट्याएर उनलाई पनि ५ वर्ष कैद हुने फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्