Logo
Logo

सञ्चारकर्मी हत्याबारे सत्यतथ्य पत्ता लगाउन माग


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २१ माघ नेपाल पत्रकार महासङ्घले मकवानपुरका सञ्चारकर्मी मनमोहन ढकालको हत्याबारे अनुसन्धान गरी जतिसक्दो चाँडो सत्यतथ्य पत्ता लगाउन माग गरेको छ ।

 

मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी ढकालको हत्याका सम्बन्धमा स्थलगत अध्ययनका लागि घटनास्थल पुगेर फर्किएको महासङ्घको मिडिया मिसन टोलीले आज यहाँ प्रतिवेदन सार्वजनिक गर्दै प्रहरीले प्रभावकारी अनुसन्धान गरी दोषी पक्राउ गरे पनि हत्या बारे सत्यतथ्य बाहिर आउन नसकेको हुँदा पत्ता लगाउन माग गरेको हो । 

हेटौँडा–१ भैरवडाँडा जाने सडकमा मृत्यु भएको अवस्थामा गत पुस २५ गते साँझ शव फेला पारिएको सम्बन्धमा महासङ्घले यही माघ ७ गते स्थलगत अध्ययनका लागि सो मिसन टोली पठाएको थियो । 

“दोषी पक्राउ परे पनि घटनास्थलमा मनोहर किन र कसरी पुग्नुभयो भन्ने विषय अझै रहस्यको गर्भमै छ, प्रहरीले यो विषयको अनुसन्धान गरी चाँडो सत्यतथ्य पत्ता लगाउन आवश्यक छ”, प्रतिवेदनमा भनिएको छ, “यसबाट घटनाबारे थप प्रष्ट हुनेछ, दोषीउपर कडा कानूनी कारवाहीका लागि निरन्तर खबरदारी आवश्यक छ ।” 
(रासस) :

प्रतिक्रिया दिनुहोस्