
रास्वपाले चुनाव जित्नुअघि जनतालाई एउटा सपना बेचेको थियो– ‘हामी पुराना दल होइनौँ ।’ तर, सत्ता पाएपछि उसले प्रमाणित गरिदियो– ‘हामी पुराना दलभन्दा फरक पनि छैनौँ ।’ फरक यति मात्र हो, कांग्रेस, एमाले र माओवादीले ३० वर्ष लगाएर कमाएको बदनाम रास्वपाले केही महिनामै कमाइदियो ।
हिजो अरू पार्टीमा गुटबन्दी हुँदा रास्वपाले खिल्ली उडायो । भागबन्डा हुँदा नैतिकताको भाषण छाँट्यो । तर, आफ्नै पहिलो ऐतिहासिक महाधिवेशनमा परिचयपत्रसमेत बाँड्न नसक्ने, निर्वाचन तालिका पटकपटक सार्ने, उम्मेदवारको नामसम्म मिलाउन नसक्ने र आफ्नै कार्यकर्ताबाट भौतिक आक्रमणको धम्की खानुपर्ने स्थिति आयो । जुन दृश्य हिजो पुराना दलका महाधिवेशनमा देखिन्थ्यो, आज त्यही दृश्य नीलो झण्डामुनि दोहोरियो । समस्या पार्टीको उमेरमा होइन, राजनीतिक संस्कारमा रहेछ ।
रास्वपाको सबैभन्दा ठूलो विडम्बना के हो भने, पुराना दललाई सरापेर बनेको पार्टी आज पुरानै दलबाट ‘रिजेक्ट’ भएका नेताहरूको पुनर्वास केन्द्र बनेको छ । टिकट नपाएका कांग्रेसी, अवसर गुमाएका एमाले र किनारामा परेका माओवादी सबैका लागि घण्टी अहिले एउटा राजनीतिक ‘रिह्याब सेन्टर’ बनेको छ । जिल्ला सभापतिदेखि उपसभापति र मन्त्रीसम्म हिजो कांग्रेस, एमाले र माओवादीमै अवसर खोजेका अनुहारहरूले भरिएको पार्टीलाई कसरी ‘नयाँ शक्ति’ भन्ने ? यस्तो अवस्थामा पनि यसलाई वैकल्पिक राजनीति भन्नु भनेको आफ्नै बुद्धिमाथि नै अपमान गर्नु हो ।
कुनै पार्टीको नाम ‘नयाँ’ हुँदैमा राजनीति नयाँ हुँदैन । र, अनुहार फेरिँदैमा राजनीतिक संस्कार बदलिँदैन । चुनावअघि ‘जान्नेलाई छान्ने’, ‘सुशासन’ र ‘वैकल्पिक राजनीति’का मिठा नारा बाँडेर जनतालाई मन्त्रमुग्ध पारियो । परिणामस्वरुप, जनताले पत्याएर देशकै सबैभन्दा ठूलो दल मात्र बनाएनन्, प्रतिनिधिसभामा झण्डै दुईतिहाइको प्रचण्ड बहुमत नै सुम्पिए । तर, सत्ताको कुर्सीमा पुगेपछिको हर्कत हेर्ने हो भने लाज पनि लजाउने अवस्था छ ।
अब पनि कसैले ‘यो त नयाँ पार्टी हो, सिक्दै छ’ भनेर रास्वपाको गल्तीमा उन्मुक्ति दिन्छ भने, त्यो राजनीतिक विश्लेषण किमार्थ होइन, त्यो त केवल अन्धभक्ति र लाचार बचाउ हो । बिर्सियौ कि क्या हो, यिनकै नारा थियो– ‘जान्नेलाई छान्ने’ ! हिजो आफैँ महाज्ञानी पल्टिएर भोट माग्ने, अनि आज कुर्सीमा पुगेपछि ‘नयाँ छौँ, सिक्दै छौँ’ भन्ने ? ढाँटको खेती धेरै दिन टिक्दैन । घण्टीको रङ र रूप नयाँ होला, तर त्यसबाट निस्कने धुन त्यही पुरानै लाचार, भ्रष्ट र गन्हाएको राजनीतिकै छ ।
पार्टीको कुरा त छाडौँ, यहाँ सरकारको ताल झन् कन्तबिजोग छ । जवाफदेहिताको ‘ज’सम्म बाँकी छैन । प्रधानमन्त्री बालेन आफैँ देशद्रोही अभिव्यक्ति दिन्छन्, चौतर्फी विरोध चर्कन्छ, तर ढुङ्गा बोल्ला, प्रधानमन्त्री बोल्दैनन् । यता अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि स्वार्थी समूहको इसारामा बजेट घोषणापछि करका दर हेरफेर गरेको गम्भीर आरोप लाग्छ । संसद्मा छानबिनको माग उठ्दा न कुनै सुनुवाइ हुन्छ, न प्रश्नको जवाफ दिइन्छ; उल्टै ‘पुराना दलले के–के गरेका थिए’ भन्दै धम्कीको भाषामा संसद् थर्काइन्छ । यहाँ बिर्सनु नहुने कुरा के हो भने वाग्ले पनि ‘तीन पुस्ते कांग्रेसी’ हुन् । कांग्रेसबाटै बारम्बार भाग खाएका हुन् । तर, ठूलो भाग नपरेपछि स्वार्थको घण्टी बजाउन पुगेका हुन् ।
उता गृहमन्त्री सुधन गुरुङको हालत पनि उस्तै छ । बिचौलियासँग नाम जोडिएपछि चौतर्फी दबाबमा राजीनामा दिन बाध्य त हुन्छन्, तर नाटक हेर्नुस्– छानबिन समिति बन्छ, प्रतिवेदन तयार हुन्छ, तर त्यसलाई सिंहदरबारकै अँध्यारो दराजमा थन्काइन्छ । र, प्रतिवेदन नै सार्वजनिक नगरी उनैलाई पुनः गृहमन्त्रालयको बागडोर सम्हाल्न फर्काइन्छ ।
पुराना दलले जे–जे गर्थे, यी ‘नयाँ’ भनाउँदाहरूले ठ्याक्कै त्यही प्रवृत्तिको सिको गरे । महिना दिन नपुग्दै मन्त्रीहरू विवादमा फस्छन्, अनि आफ्नै खल्तीको समिति बनाएर ‘चोख्याउने’ खेल खेलिन्छ । संसद्मा नीति र सिद्धान्तको बहस हुनुपर्नेमा, यी नयाँ अनुहारहरू धम्कीको भाषा बोल्छन् । पाखुरा सुर्कन्छन् । नयाँ अनुहारको मुकुण्डो अब उघ्रिइसकेको छ, जसभित्र त्यही पुरानै कुण्ठा, प्रवृत्ति र अहंकारको दुर्गन्ध लुकेको छ ।
यता, कार्यकर्ताको हर्कत झन् लाजमर्दो छ । हिजो अरू पार्टीका कार्यकर्तालाई ‘झोले’ भन्दै गिज्याउनेहरू आज आफैँ ‘माहाझोले’ भइसकेका छन् । उनीहरूका लागि पार्टी अब कुनै राजनीतिक संस्था रहेन, एउटा यस्तो अन्धविश्वासको मन्दिर बन्यो । जहाँ प्रश्न गर्नु पाप र नेतृत्वको आलोचना गर्नु ‘ईश्वरको निन्दा’ ठानिन्छ । यो राजनीतिक चेतना होइन, खतरनाक धार्मिक कट्टरताको नयाँ राजनीतिक संस्करण हो, जहाँ तर्क मर्छ, विवेक सुक्छ र अन्धभक्तिले सत्यलाई जिउँदै निल्छ ।
रास्वपाको वरिपरि अहिले यस्तै अन्धभक्तहरूको विषाक्त घेरा लागेको छ । हेक्का रहोस्, यो पार्टीको शक्ति होइन, सबभन्दा ठूलो संकट हो । कुनै पनि दल कति बलियो छ भन्ने कुरा उसको भीडबाट होइन, आलोचना सुन्ने उसको औकातबाट नापिन्छ । जसलाई प्रश्न सोध्दा सातो जान्छ, त्यो दल कहिल्यै लोकतान्त्रिक हुनै सक्दैन ।
झन् विडम्बना तो के छ भने, यी ‘डिजिटल योद्धाहरू’को यो सारा उग्रता कुनै सिद्धान्तका लागि होइन, सीधा स्वार्थको रोटी सेक्नका लागि हो । यी फेसबुक र टिकटकका सिपाहीमध्ये कसैको आँखा स्थानीय तहको टिकटमा छ, कसैको ध्यान प्रदेशमा छ, त कतिपयचाहिँ विभिन्न बोर्ड, प्राधिकरण र आयोगमा ‘विज्ञ’को मुकुण्डो ओढेर जागिर खाने दाउ हेरिरहेका छन् ।
राजनीतिमा सबैभन्दा खतरनाक कुरा गल्ती गर्नु होइन, आफू अरूभन्दा फरक छु भन्ने भ्रम पाल्नु हो । रास्वपाले अहिले त्यही भ्रमको मूल्य तिर्दै छ । बिर्सिनु हुँदैन, जनताले उसलाई पुराना दलकै अर्को ‘नयाँ संस्करण’ वा ‘फोटोकपी’ बन्न भोट दिएका थिएनन्, पुरानाको विकल्प बन्न मत दिएका थिए । त्यसैले, अब पनि कसैले रास्वपाको गल्तीमा आँखा चिम्लेर ‘यो तो नयाँ पार्टी हो’ भन्दै काँध हाल्छ भने, त्यो राजनीतिक मूल्याङ्कन होइन, सीधा–सीधा अन्धभक्ति हो ।
त्यसैले, अब पनि रास्वपाको नाम र रूप हेरेर मात्रै उसलाई ‘नयाँ’ ठान्नु मूर्खताबाहेक केही होइन । नयाँ राजनीति कुनै ओठे नारा वा सामाजिक सञ्जालको स्टन्ट होइन, यो त संस्कार र व्यवहारले प्रमाणित गर्ने कुरा हो । अहिलेसम्मको लाजमर्दो हर्कतले के देखाउँछ भने रास्वपा पुराना दलको विकल्प किमार्थ होइन, नयाँ बोतलको पुरानै रक्सी मात्र हो ।
त्यसैले अब पनि केवल पार्टी नयाँ भएकै आधारमा रास्वपालाई विकल्प ठान्नेहरूलाई एउटा प्रश्न सोध्नुपर्छ– यदि अनुहार पुरानै, प्रवृत्ति पुरानै, गुटबन्दी पुरानै, अहंकार पुरानै र सत्ता चलाउने शैली पनि पुरानै हो भने नयाँ के बाँकी रह्यो ?
नयाँ राजनीति फेसबुकका सस्ता स्टाटस र टिकटकका स्टन्टबाट बन्दैन, त्यसका लागि उच्च राजनीतिक संस्कार र चेतना चाहिन्छ । हातमा घण्टी झुन्ड्याएर हल्ला मच्चाउँदैमा चेतना आउने होइन, त्यसका लागि स्वच्छ छवि र पवित्र चरित्र चाहिन्छ । हेक्का रहोस्– जनताले रास्वपालाई पुराना दलको सिण्डिकेट भत्काउन मत दिएका थिए, पुरानै गन्हाएको प्रवृत्तिमा ‘नयाँ रङ’ पोतेर जनताकै आँखामा छारो हाल्न होइन । ०००














