Logo
Logo

नक्कली शरणार्थी प्रकरण: बालकृष्ण र टोपबहादुरसहित अधिकांश दोषी ठहर, ७ जनाले पाए सफाइ (सूचीसहित)


252
Shares

काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले महत्त्वपूर्ण फैसला सुनाएको छ। अदालतले यस प्रकरणमा मुछिएका उच्चपदस्थ राजनीतिज्ञ तथा कर्मचारीसहित अधिकांश अभियुक्तहरूलाई दोषी ठहर गरेको छ भने ७ जना अभियुक्तहरूलाई पूर्ण रूपमा सफाइ दिएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दायर मुद्दामाथि सुनुवाइ गर्दै उक्त फैसला गरेको हो।

हाईप्रोफाइल नेता र कर्मचारी दोषी ठहर
अदालतको फैसलाअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी दोषी ठहर भएका छन्। रायमाझीलाई संगठित अपराध र राज्यविरुद्धको एकीकृत कसुरमा दोषी पाइएको हो। यसैगरी, नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डे र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि दोषी ठहर भएका छन्। रिजाललाई ठगी र संगठित अपराधको कसुर लागेको छ भने पाण्डेलाई संगठित अपराध र राज्यविरुद्धको एकीकृत कसुरमा अदालतले दोषी ठहर गरेको छ।

यस प्रकरणका मुख्य बिचौलिया तथा योजनाकार मानिएका सानु भण्डारी र केशव दुलाललाई पनि संगठित अपराध तथा राज्यविरुद्धको एकीकृत कसुरमा दोषी ठहर गरिएको छ। सोही कसुरमा सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, आङटावा शेर्पा र डा. इन्द्रजीत राई समेत दोषी ठहर भएका छन् भने शम्सेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई ठगी मुद्दामा दोषी ठहर गरिएको छ।

७ जनाले पाए सफाइ
अदालतले प्रमाणको अभाव र कसुर स्थापित हुन नसकेको भन्दै ७ जना अभियुक्तहरूलाई भने सबै आरोपबाट पूर्ण रूपमा सफाइ दिएको छ। सफाइ पाउनेहरूमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझी र पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापा रहेका छन्। उनीहरूसँगै टंककुमार गुरुङ, रामशरण केसी, आशिष बुढाथोकी, लक्ष्मी महर्जन र केशव तुलाधरले पनि अदालतबाट सफाइ पाएका हुन्।

यो फैसलासँगै नेपाली राजनीति र प्रशासनिक क्षेत्रलाई लामो समयदेखि तरंगित बनाएको नक्कली शरणार्थी प्रकरणको जिल्ला अदालतबाट पहिलो तहको कानुनी निरूपण भएको छ। दोषी ठहर भएका अभियुक्तहरूको सजाय निर्धारणका लागि अदालतले थप प्रक्रिया अगाडि बढाउनेछ।

प्रतिक्रिया दिनुहोस्