
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउने निर्देशन दिएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्ने क्रममा नेकपा (एमाले)का सांसद राईले ‘सभामुखले कान सुन्नुहुन्छ कि हुन्न’ भनेर प्रश्न गरेका थिए । त्यसपछि सभामुख अर्यालले सांसद राईलाई बोल्न रोकेका थिए ।
केहीबेरको विवादपछि सभामुख अर्यालले सांसद राईलाई माफी माग्न भन्दै समय दिएका थिए । तर, राईले आफ्नो कुरा नै नसुनी सभामुखले गलत व्यवहार गरेको र यसबाट सभामुख अर्यालले पाँच वर्षसम्म संसद चलाउन नसक्ने भनि आलोचना गरेपछि सभामुख अर्यालले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
त्यसपछि बसेको बैठकमा सभामुख अर्यालले सांसद राईलाई बोल्न समय दिएका थिए । सांसद राईले यसअघिको अभिव्यक्ति सभामुखले आफ्नो कुरा नसुनेर रोक लगाएकाले आवेशमा आएको बताएका थिए ।
त्यसपछि सभामुख अर्यालले यसअघिको सांसद राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् । सभामुख अर्यालले भने, ‘यसअघिको बैठकमा माननीय राजेन्द्रकुमार राईले बोलेका सम्पूर्ण अभिलेखहरू संसदीय रिकर्डबाट हटाउन निर्देशन गर्दछु।’














