Logo
Logo

सुनकाण्डमा डिआईजीलाई उन्मुक्ति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । तामालाई सुन भनेर पत्रकार सम्मेलन गर्ने धादिङका एसपी डम्बरबहादुर विक त कारबाहीमा परेका छन् तर डिआईजीलाई भने उन्मुक्ति दिइएको छ । जबकि यो प्रकरणमा प्रमुख गल्ती डिआईजीको थियो ।

प्रदेश नम्बर ३ का प्रहरी प्रमुख डिआईजी दीपककुमार थापालाई कारबाहीबाट उन्मुक्ति दिइएको छ । प्रदेश कार्यालयकै सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । डिआईजी थापाका घुमुवा बुद्धि चौधरीको टोलीले सो धातुलाई सुन भन्दै बरामद गरेर प्रचार गरेको थियो ।
पुस २० गते ४ किलो सुनसहित ३ जनालाई पक्राउ गर्न सफल भएको भन्दै पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका तत्कालीन प्रहरी उपरीक्षक डम्बरबहादुर विकले आफूहरुको सहयोगमा प्रदेश ३ को प्रहरी इकाइले रसुवा हुँदै भारततर्फ लैजान लागेको अवस्थामा सुनसहित मान्छे पक्राउ गरेको बताएका थिए ।
प्रहरीले बरामद गरेको भनिएको ४ किलो ‘सुन’ सहित पक्राउ परेका तीनै जनालाई पत्रकार सम्मेलनपछि आवश्यक कारबाहीका लागि भन्दै राजस्व अनुसन्धान विभाग काठमाडौं ल्याएको थियो ।
धादिङबाट काठमाडौं ल्याइपु¥याउँदा साँझ परिसकेको थियो । साँझ परे पनि प्रहरीले सुन भनिएको वस्तु सहित तीनै जनालाई विभागमा लग्यो । प्रहरीले विभागको टोलीलाई सुन भनिएको वस्तुसहित पक्राउ परेकालाई बुझाएर जान खोजेको थियो । तर विभागको टोलीले त्यो बुझ्नु भन्दा पहिले सुन भनिएको वस्तु परीक्षण गर्ने भन्यो ।
विभागले पहिले परीक्षण गरेर मात्रै कुनै पनि वस्तु बुझ्ने गरेको बताउँछन् विभागका निर्देशक तथा सूचना अधिकारी शेखर पौडेल । त्यो दिन पनि विभागको टोलीले प्रहरीले ल्याएको सुन जिम्मा लिनु अघि परीक्षण गर्ने भन्यो ।
प्रहरीले ल्याएको सुन भनिएको वस्तु सहित विभागको टोली सुन, चाँदी व्यवसायी महासंघको सहकार्यमा त्रिपुरेश्वरमा रहेको एक सुनचाँदी पसलमा परीक्षणका लागि पुग्यो । त्यहाँ परीक्षण गराउँदा प्रहरीले बरामद गरेको भनेको सुन नक्कली भएको पुष्टि भयो । त्यसमा तामा र ढलोट थियो । विभागले प्रहरीलाई नै मान्छेसहित धातु फिर्ता पठायो । प्रहरी हिस्स बन्न पुग्यो ।
उनीहरुलाई पक्राउ गर्दा तयार पारिएको मुचुल्का र विभागले परीक्षण गरेपछि फेरि तयार पारेको मुचुल्का आफूहरुसँग सुरक्षित रहेको दाबी प्रहरीको छ । प्रहरी प्रधान कार्यालयले गरेको प्रारम्भिक छानबिनमा पनि सुन नसाटिएको पाइएको छ ।
तर, हतारमा पत्रकार सम्मेलन गर्दा प्रहरी संगठनमाथि थप विश्वासको संकट चुलिएको छ । प्रहरीले समाएको सुन राजस्व पुग्दा तामा भएको भन्दै प्रचार भयो । यसले प्रहरीले कतिसम्म बदमासी गर्छ भन्ने सन्देश बाहिर गएको छ ।
यो प्रकरणमा डिआईजी थापालाई भने सचेत गराउनेसम्म काम भएको छैन । उनी नेकपाका अध्यक्ष प्रचण्डलाई खुशी बनाएर प्रदेश नम्बर ३ को प्रहरी प्रमुख बनेका हुन् । जागिर धेरै बाँकी नभएकाले उनको ध्यान कमाउनै केन्द्रित छ ।
थापा ओटु सुनकाण्ड प्रकरणमा पनि निलम्बनमा परेका अधिकारी हुन् । प्रहरीकै मिलेमतोमा ओटुमा सुन लुटिएको थियो ।
अहिले प्रदेशबाट सबै जिल्लामा घुमुुवा परिचालन गरी उनले पैसा असुली गर्दै आएका छन् । रसुवा नाकाबाट त तस्करीकै सेटिङ मिलाएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्