Logo
Logo

फुटबल मैदानमा बदलाको ‘युद्ध’: मेस्सीको करियरकै सबैभन्दा खतरनाक परीक्षा !


63
Shares

The current image has no alternative text. The file name is: 2083-03-29-World-Cup-2026-Argentina-vs-England-2-THUMBNAIL.jpg

काठमाडौं । अर्जेन्टिना र इंग्ल्यान्डको नाम सुन्नासाथ धेरै फुटबल समर्थकको दिमागमा एउटा तस्बिर झल्किन्छ । डिएगो म्याराडोनाले हातले गरेको त्यो गोल । जसलाई उनले पछि ‘यान्ड अफ गड’ अर्थात् भगवान्को हात भने । तर यो प्रतिस्पर्धाको कथा त्यतिमै सीमित छैन । यो दुई टोलीबीचको सामान्य फुटबल खेल पनि होइन । यसभित्र इतिहास छ, राजनीति छ, युद्धको पीडा छ र चार दशकभन्दा लामो समयदेखि बाँचिरहेको भावनात्मक प्रतिस्पर्धा पनि छ ।

दक्षिण एटलान्टिक महासागरको एउटा सानो टापु– फकल्यान्ड, जसलाई अर्जेन्टिनाले माल्भिनास भन्छ । त्यही टापुको स्वामित्वलाई लिएर सन् १९८२ मा अर्जेन्टिना र बेलायतबीच युद्ध भयो । करिब साढे दुई महिना चलेको त्यो युद्धमा झन्डै एक हजार सैनिकले ज्यान गुमाए । अन्ततः बेलायत विजयी भयो । रोचक कुरा के भने, बेलायतलाई जिताउन नेपाली गोर्खा सैनिकले त्यहाँ निर्णायक भूमिका खेलेका थिए । त्यही भएर यी दुई देश फुटबल मैदानमा उत्रिँदा खेल मात्र हुँदैन, युद्धको प्रतिकात्मक बदलाको भावना पनि सल्किन्छ । म्याराडोनाले इंग्ल्यान्डलाई पछारेपछि ‘धन्न इंग्ल्यान्डसँग गोर्खा सैनिक थिएनन् र हामीले जित्यौँ’ भनेर दिएको अभिव्यक्ति आज पनि उत्तिकै चर्चित छ ।

युद्ध सकिएको ठीक चार वर्षपछि, सन् १९८६ को मेक्सिको विश्वकपको क्वार्टरफाइनलमा अर्जेन्टिनाले मैदानमै त्यसको बदला लिने मौका पायो । म्याराडोनाको त्यही विश्वचर्चित एवं विवादास्पद ‘हाते गोल’को सहारामा अर्जेन्टिनाले इंग्ल्यान्डमाथि २–१ को रोमाञ्चक जित दर्ता ग¥यो। इंग्ल्यान्डका खेलाडीहरूले ‘ह्यान्ड बल’ भन्दै मैदानमा मरिहत्ते गरे पनि रेफ्रीको निर्णय बदलिएन । आधुनिक फुटबल जस्तो त्यतिबेला भीएआरको व्यवस्था थिएन । न त रेफ्रीले देखे, न लाइन्सम्यानले नै ठम्याउन सके । त्यसैले इतिहासकै त्यो सबैभन्दा विवादास्पद गोलले मान्यता पाइछाड्यो । 

पहिलो गोल भएको ठीक चार मिनेटपछि म्याराडोनाले मैदानमा अर्को जादु देखाए । आधा मैदानबाट एक्लै बल गुडाउँदै इंग्ल्यान्डका ५–६ जना खेलाडी र गोलकिपरलाई समेत छक्काएर उनले यस्तो गोल गरे, जसलाई पछि ‘शताब्दीकै उत्कृष्ट गोल’को उपाधि दिइयो । तर, संसारमा आज पनि चर्चा भने त्यो उत्कृष्ट गोलको भन्दा बढी त्यही विवादास्पद ‘हाते गोल’ कै हुन्छ । खेल सकिएपछि म्याराडोनाले यो जितलाई फकल्यान्ड युद्धको पीडा र बदलासँग जोड्दै भावुक बयान दिएका थिए । त्यही खेलको ऊर्जाले अर्जेन्टिनालाई त्यो वर्ष दोस्रोपटक विश्वकप विजेता समेत बनायो । आज म्याराडोना यो संसारमा छैनन्, तर फुटबल इतिहासको पानामा उनी तिनै दुई गोलका कारण सधैँका लागि अमर बनेका छन् ।

आगामी बिहीबार अमेरिकाको एटलान्टामा हुने यसपटकको फिफा विश्वकपको सेमिफाइनल भिडन्तमा खेलाडीहरूबीचको पुरानो रिसराग केही कम होला, तर बेलायती मिडिया र समर्थकहरूमा भने त्यही ४४ वर्ष पुरानो आगो सल्किने पक्का छ । यसको ट्रेलर अस्ति नै देखिइसक्यो । अर्जेन्टिना इजिप्टसँगको खेलमा विवादमा तानिँदा, इजिप्टभन्दा बढी बेलायती सञ्चारमाध्यमहरू अर्जेन्टिनामाथि खनिए । बीबीसी स्पोर्ट, द गार्डियन, फक्स स्पोट्स, द सन र डेली मिररजस्ता बेलायती मिडियााहरुले इजिप्टलाई ‘गम्भीर अन्याय’ भएको भन्दै रेफ्री र भीएआरमाथि औंला उठाए । संसारका अरू देशले यसलाई सामान्य रेफ्रीको गल्ती मान्दा बेलायती मिडियाले भने तिलको पहाड बनाए ।

उता अर्जेन्टिनी समर्थकहरू पनि चुप लागेर बसेका छैनन् । रङ्गशालामा एउटा पुरानो नारा फेरि गुञ्जिरहेको थालेको छ– ‘एल के नो साल्टा एस उन इन्ग्लेस ।’ अर्थात् ‘जो उफ्रँदैन, ऊ अङ्ग्रेज हो ।’ दशकौँदेखि अर्जेन्टिनाका समर्थकले लगाउँदै आएको यही नारा अहिले पनि उस्तै जोशका साथ सुनिन्छ ।

यी दुई देशबीचको दुश्मनीको जरा त झन् पुरानो छ । सन् १९६६ को विश्वकप क्वार्टरफाइनललाई आज पनि ‘द ब्याटल अफ रात्तिन’ भनिन्छ । त्यो खेलमा अर्जेन्टिनाका कप्तान आन्टोनियो रात्तिनलाई जर्मन रेफ्रीले मैदानबाहिर जान आदेश दिँदा, त्यतिबेला कार्डको व्यवस्था नभएकाले उनले १० मिनेटसम्म मैदान छाड्न मानेनन् र रिसको झोकमा इंग्ल्यान्डको कर्नर झन्डा नै बटारिदिए । त्यही लफडापछि मात्रै फिफाले खेलाडीलाई सजाय दिन पहेँलो र रातो कार्डको नियम ल्याएको थियो । 

त्यसैले एटलान्टामा हुने यो सेमिफाइनल केवल मैदानभित्रको लडाइँ मात्र हुने छैन । रङ्गशालाको वातावरण, समर्थकहरूको ऊर्जा र इतिहासको भारले पनि यो खेललाई विशेष बनाउनेछ । यो खेलको अर्को सबैभन्दा ठूलो आकर्षण भनेको लियोनेल मेस्सी हुन् । सन् २००५ मा डेब्यु गरेयता मेस्सीले आफ्नो लामो अन्तर्राष्ट्रिय करियरमा मैत्रीपूर्ण होस् या आधिकारिक रुपमा इंग्ल्यान्डविरुद्ध कहिल्यै खेलेका छैनन् । सन् २००२ को विश्वकपको समूह चरणमा इंग्ल्यान्डले अर्जेन्टिनालाई हराएको थियो, जसका कारण अर्जेन्टिनाको यात्रा समूह चरणमै टुंगिएको थियो। त्यसयता विश्वकपमा यी दुई टोलीको भेट भएको छैन ।

त्यसैले पनि यो सेमिफाइनलको प्रतीक्षा अझ विशेष बनेको छ, जहाँ मेस्सीको टोली लगातार दोस्रोपटक उपाधि रक्षा गर्ने दाउमा हुनेछ भने इंग्ल्यान्ड ६० वर्षदेखिको उपाधि खडेरी तोक्ने दाउमा छ । 

अर्जेन्टिनाको अर्को रोचक इतिहास सेमिफाइनलसँग जोडिएको छ । फिफा विश्वकपको इतिहासमा अर्जेन्टिनाले अहिलेसम्म खेलेका कुनै पनि सेमिफाइनलमा हार ब्यहोर्नु परेको छैन । सन् १९७८, १९८६ र २०२२ मा सेमिफाइनल जितेर उसले विश्वकप नै उचाल्यो भने १९३०, १९९० र २०१४ मा पनि सेमिफाइनल जित्दै फाइनलसम्मको यात्रा तय ग¥यो, यद्यपि उपाधि भने जित्न सकेन । इतिहासले अर्जेन्टिनाको पक्षमा संकेत गरे पनि इतिहासले मात्र खेल जिताउँदैन । अहिलेको इंग्ल्यान्ड निकै बलियो र उत्कृष्ट लयमा छ । त्यसैले पुराना तथ्याङ्कले मात्र एटलान्टामा काम गर्ने छैनन्, यसपालि नकआउट चरणमा आगो ओकलिरहेको इंग्ल्यान्डलाई रोक्न अर्जेन्टिनाले मैदानमा आफ्नो सर्वोत्कृष्ट खेल प्रदर्शन गर्नै पर्छ । 

अब इतिहासका कुरा यत्तिकै छोडौँ र फर्किऔँ अहिलेको विश्वकपतिर । किनकि विगतले चर्चा त पाउँछ, तर फाइनलको टिकट वर्तमानको प्रदर्शनले काट्छ । यसपटक अर्जेन्टिना र इंग्ल्यान्ड दुवैले सेमिफाइनलसम्म पुग्ने बाटो सजिलो बनाएर आएका होइनन् । दुवैले दबाब झेलेका छन्, कठिन खेल खेलेका छन् र आफू किन उपाधिका दाबेदार हुन् भन्ने प्रमाण पनि दिएका छन् । त्यसैले एटलान्टामा हुने यो भिडन्त दुई नाम चलेका टोलीबीचको मात्र होइन, प्रतियोगिताकै दुई उत्कृष्ट टोलीबीचको टक्कर पनि हो ।

समूह चरणदेखि नै अर्जेन्टिनाले आफू किन विश्व च्याम्पियन हो भन्ने बलियो संकेत दिएको थियो । समूह ‘जे’ मा उसले अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई लगातार पराजित गर्दै शतप्रतिशत नतिजासहित ९ अङ्क बटुल्यो । समूह चरणमा कुनै पनि टोलीले उसलाई रोक्न सकेनन् । यस क्रममा सबैभन्दा बढी चर्चा कप्तान मेस्सीको भयो । अल्जेरियाविरुद्ध उनले सानदार ह्याट्रिक गर्दै विश्वपक करियरमै पहिलो ह्याट्रिक गरेका थिए । त्यसपछि अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ को सहज नतिजाले पन्छाउँदै अर्जेन्टिनाले केवल खेल मात्र जितेन, मैदानको पूर्ण नियन्त्रण पनि आफ्नै हातमा राख्यो । 

तर, विश्वकपको असली परीक्षा त नकआउट चरणबाट मात्र सुरु हुन्छ, जहाँ एउटै मात्र गल्ती पनि घर फर्किने बाटो बन्न सक्छ । अर्जेन्टिनाले त्यो कठिन दबाबलाई पनि झेल्यो । अन्तिम ३२ को खेलमा काबो भर्डेले अन्तिम समयसम्म कडा चुनौती दिए पनि अर्जेन्टिनाले आफ्नो अनुभवको बलमा ३–२ को जित निकाल्यो । त्यसपछि अन्तिम १६ मा इजिप्टविरुद्ध ३–२ कै अर्को सङ्घर्षपूर्ण जित दर्ता ग¥यो । उक्त खेलमा रेफ्रीका केही निर्णयहरूलाई लिएर ठूलो विवाद भए पनि अर्जेन्टिनाले त्यसलाई बहाना बनाउनुको सट्टा मैदानमै आफ्नो प्रदर्शनले जवाफ दियो ।

क्वार्टरफाइनलमा भने अर्जेन्टिनाले सजिलै जित निकाल्न सकेन । निर्धारित ९० मिनटमा १–१ बराबरीमा रोकिएपछि अर्जेन्टिनाले थप समयमा स्वीट्जरल्यान्डलाई ३–१ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का ग¥यो ।  उता इंग्ल्यान्डको यात्रा पनि कम प्रभावशाली छैन। समूह ‘एल’बाट दुई जित र एक बराबरीसहित सात अङ्क बटुलेर उसले नकआउट चरणमा प्रवेश ग¥यो । पहिलो खेलमै क्रोएसियालाई ४–२ ले हराउँदै इंग्ल्यान्डले आक्रामक संकेत दियो । त्यसपछि पानामामाथि २–० को सहज जित निकाल्यो । घानाविरुद्ध गोलरहित बराबरी खेले पनि टोलीको प्रदर्शन कमजोर थिएन । प्रशिक्षकले केही खेलाडीलाई विश्राम दिएका थिए । 

नकआउटमा प्रवेश गरेपछि इंग्ल्यान्ड झन् खतरनाक देखियो । अन्तिम ३२ मा डीआर कंगोलाई २–१ ले हरायो । अन्तिम १६ मा मेक्सिकोलाई ३–२ ले पन्छायो । त्यसपछि क्वार्टरफाइनलमा सबैको ध्यान तानेको खेल आयो । आर्लिङ हालान्ड सम्मेलित नर्वेलाई अतिरिक्त समयसम्म तन्किएको खेलमा २–१ ले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश ग¥यो । 

अहिले सेमिफाइनलमा पुगेका चार टोलीलाई हेर्ने हो भने एउटा रोचक संयोग पनि देखिन्छ । फिफा वरीयताको पहिलो चार स्थानमा रहेका टोली नै अन्तिम चारमा पुगेका छन् । यसले यो विश्वकपमा कुनै ठूलो अप्रत्याशित टोलीभन्दा पनि निरन्तर उत्कृष्ट प्रदर्शन गरेका टोलीहरू अन्तिम चरणसम्म पुगेको देखाउँछ । त्यसैले अब हुने प्रत्येक खेल फाइनलजस्तै हुनेछ ।

तर इंग्ल्यान्डसँग जोडिएको अर्को रोचक तथ्य पनि छ । विश्वकपको २२ संस्करण पूरा भइसक्दा अहिलेसम्म कुनै पनि विदेशी प्रशिक्षकले आफ्नो टोलीलाई विश्वकप जिताउन सकेका छैनन् । इतिहासमा उपाधि जित्ने सबै टोली आफ्नै देशका प्रशिक्षकको नेतृत्वमा थिए । यसपटक भने इंग्ल्यान्ड जर्मनीका थोमस टुचेलको प्रशिक्षणमा खेलिरहेको छ । यदि उनले इंग्ल्यान्डलाई अर्जेन्टिनामाथि जित दिलाउँदै फाइनल पु¥याए र त्यसपछि फ्रान्स वा स्पेनलाई हराएर उपाधि जिते भने विश्व फुटबलको अर्को नयाँ इतिहास लेखिनेछ । 

उता अर्जेन्टिनालाई भने आफ्नै देशको प्रशिक्षकमाथि विश्वास छ । प्रशिक्षक लियोनेल स्कालोनीले विगत केही वर्षदेखि बनाएको टोली अहिले परिपक्व अवस्थामा पुगेको छ । खेलाडीहरू एकअर्कालाई आँखा चिम्लेर बुझ्छन् । दबाबमा पनि आत्तिँदैनन् । कोपा अमेरिका, फाइनलिसिमा र विश्वकप जितेको अनुभव यही टोलीसँग छ । त्यसैले अर्जेन्टिना मैदानमा उत्रँदा केवल प्रतिभा लिएर होइन, विनिङ मानइन्डसेट लिएर उत्रिन्छ ।

तर, प्रश्न इतिहासको होइन, खेलाडीहरूको हो । आखिर गोलपोस्टमा को बलियो छ रु डिफेन्स कसको मजबुत छ रु मिडफिल्ड कसले नियन्त्रण गर्न सक्छ रु र सबैभन्दा घातक फरवार्ड लाइन कसको छ रु यही प्रश्नको उत्तरले अन्ततः फाइनल पुग्ने टोली पनि तय गर्नेछ ।

अब कुरा गरौँ, यो सेमिफाइनलको नतिजा कसले निकाल्छ भन्नेभन्दा पनि कसका खेलाडीले खेलको दिशा मोड्न सक्छन् भन्ने । किनभने यस्ता खेलमा रणनीति मात्र होइन, एउटा खेलाडीको एउटा निर्णयले इतिहास बदलिदिन्छ । त्यसैले सबैभन्दा पहिले गोलपोस्टबाटै सुरु गरौँ । 

गोलपोस्टमुनि अर्जेन्टिनाका एमिलियानो ‘डिबु’ मार्टिनेज उभिएपछि विपक्षी टोलीले खेल सुरु हुनुअघि नै एउटा मानसिक दबाब महसुस गर्छ । उनी केवल उत्कृष्ट गोलकिपर मात्र होइनन्, विपक्षीको दिमागसँग खेल्न सक्ने खेलाडी पनि हुन् । पेनाल्टी सुटआउट आयो भने उनको आत्मविश्वास झन् खतरनाक देखिन्छ । विपक्षी खेलाडीलाई हेर्ने तरिका, अन्तिम क्षणसम्म धैर्य गर्ने बानी र निर्णायक बचाउ गर्ने क्षमताले उनले पटकपटक अर्जेन्टिनालाई सङ्कटबाट जोगाएका छन् ।

कतार विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध अन्तिम मिनेटमा गरेको त्यो बचाउ आज पनि फुटबल समर्थकले बिर्सिएका छैनन् । त्यसअघि नेदरल्यान्ड्सविरुद्धको पेनाल्टी सुटआउट पनि उनैले जिताएका थिए । त्यसैले डिबु मैदानमा हुँदा अर्जेन्टिनाका डिफेन्डर मात्र होइन, पूरा टोली नै ढुक्क देखिन्छ ।

तर उता इंग्ल्यान्डका जोर्डन पिकफोर्डलाई पनि सामान्य गोलकिपर ठान्नु गल्ती हुन्छ । वर्षौँदेखि उनी इंग्ल्यान्डका पहिलो रोजाइका गोलकिपर हुन् । उनको रिफ्लेक्स निकै तीव्र छ । लाइनबाट बाहिर निस्कने समय उत्कृष्ट छ । लामो पासबाट एकैछिनमा काउन्टर अट्याक सुरु गराउने क्षमता पनि गजबको छ । डिफेन्ससँग उनको समन्वय बलियो छ ।

बाँकी भिडियोमा 

प्रतिक्रिया दिनुहोस्