
चीनबाट नेपाल पुग्न कम्तिमा दुइवटा प्लेन चढ्नु पथ्र्यो त्यो बेला । हामीले शाङ्हाईबाट हङ्कङ र त्यहाँबाट काठमाण्डूसम्मको टिकट लिएका थियौँ । त्योबेला चीनबाट फर्किने विद्यार्थीहरुको निम्ति हङ्कङमा बास बस्ने ठाउँ प्रायः चुङकिङ् मेन्सन् हुने गथ्र्यो । हामी दिउँसोतिर हङ्कङ पुग्यौं । पाँचवर्ष अघि चीन जाँदा पनि हङ्कङ् भएरै गएकी थिएँ । मेरो निम्ति यो दोस्रो पल्टको हङ्कङ दर्शन थियो ।
पहिलोचोटी जस्तो कौतूहल थिएन । फेरि चुङ्किङ मेन्सनकै एउटा सानो कोठामा बस्नु थियो । कोठामा सामान थन्क्याएर हामी बुढाबुढी बाहिर डुल्न हिँड्यौँ । पहिलोपटक हङकङमा बास बसेको बेला फरक के थियो भने यसपाली कुनै असहयोगी साथीसँग नभएर आफ्नै जीवन साथीको साथमा थिएँ । म ढुक्क थिएँ । हामीसँग कुनै बोक्न नहुने सामान पनि थिएन । बोक्नै पर्ने सामान समेत उतै शाङ्हाईमै छोडेर आएका थियौँ । त्यतिबेला तीन वर्षकी छोरीलाई कहिले बोक्ने कहिले हिडाउँने गर्दै एकछिन हङकङ सहर हेर्न निस्केकी थिएँ । यसपाली भने पेटमा चार महिनाको दोस्रो सन्तानलाई गर्भमा लुकाएर हिँड्दै थिएँ ।
शाङ्हाईमा छँदा घनिष्टता भएका एकजोडी ज्यादै असल मित्रहरू त्योबेला हङकङमा थिए । शाङ्हाईकै अरु युनिभर्सिटीमा पढाई सिद्धिएपछि दुवैजना हङकङमा काम गर्दै थिए । त्यसबेला चीनमा इन्जिनीयरिङ पढेका युवाहरुको निम्ति हङकङमा काम पाउन सजिलो हुन्छ भनिन्थ्यो । अद्यापि घनिष्ठ सम्बन्ध भएका ती मित्रहरू उबेलादेखि नै ज्यादै सहृदयी थिए ।
फोनमा सम्पर्क भएपछि आफ्नो भेटघाटको निम्ति कोठामै बोलाए । उनीहरु बस्ने ठाउँ हङ्कङको महँगो ठाउँमा पर्दोरहेछ– हुनेखानेहरू नै बसोबास गर्ने क्षेत्र । बेलुकी सँगसँगै एउटा नेपाली रेष्टोराँमा गएर खायौँ । म शुरुमा चीन जाँदा यिनै साथीहरूसँग आउनु भनेर सरोजले भनेका थिए । तर त्यतिबेला यी मित्रहरूलाई मैले चिनिसकेको थिइन । पहिलेदेखि चिनिरहेको अर्को साथी छुट्टीमा देश फर्केको भएर उनैसँग जान सजिलो होला भनी आफैँले निर्णय गरेकी थिएँ । तर त्योबेला एउटा ठूलो पाठ बाटैबाट सिकेकी थिएँ– चीन पुग्नुअघि नै । यसपालि हङ्कङमा भेटेका यी सहृदयी साथीहरूको भने चीनमा बस्दादेखि नै सहयोगी व्यवहारमात्रै हैन, अर्काको कुरा बुझ्ने गज्जबको सुन्दर मन थियो ।
हङकङको बजार डुल्न पनि साथीहरुले नै लगे । त्यही बेला आफन्त र मित्रहरुको निम्ति केही उपहार किनें । साथीहरुको मैत्रीपूर्ण व्यवहार र न्यानो माया बोकेर बेलुकी फेरि चुङकिङ मेन्सनको सानो कोठामा फक्र्यौं । फर्किने बेलामा बाटो भुलेर लामो घुमाउरो बाटो हिँडेछौं । त्यसबेला न अहिले जस्तो मोबाइल फोन थियो, न गुगल म्याप नै हेर्न मिल्थ्यो । नजिकै छ भनेर ट्याक्सी पनि नलिई हिँडेका थियौँ । पेटमा बच्चा भएकै कारणले पनि होला हिंड्नै नसक्ने गरी थाकेछु म त ।
खुट्टै घिसारेर हिंड्नु पर्ने अवस्था भएछ, अति नै थाकेर । तै त्यतिबेलासम्म सजिलो कपडामै थिएँ । उतै लगाउने गरेको लामो फ्रक लगाएकी थिएँ । बल्लबल्ल हामी बस्ने डेरामा पुग्यौं । त्यो बेलादेखि नै त्यो फ्रकबाट बिदा पनि लिएँ सधैंको निम्ति । त्यो लुगाको भने माया लागेर सुटकेशमा कोचें । देश फर्केपछि म अर्कै हुन्छु र मेरो पहिरन पनि फरक हुन्छ भन्ने कुरा स्पष्टै थियो । सरोजको सगोल घरमा सासू–ससुरा, देवर–देवरानी, नन्दहरूको अर्कै संसारमा पुग्नु थियो । म अझै भिज्न नपाएको नयाँ घरमा अनिश्चित समयको निम्ति बास बस्नु थियो ।
चीन जाने बेलामा जस्तै अप्ठ्यारो भोगेर पनि मैले जान चाहेको देशमा जीवन साथी भेट्ने तीव्र इच्छासँगै नयाँ उत्सुकता थियो भने फर्कँदा भने देशमा छोडेको मुटुको टुक्रा छोरी अनि आमा र आफन्तलाई छिटो भेट्ने इच्छा नै प्रमुख थियो । चिन्ता पनि थियो– अर्कै खालको । एक्लै बस्ने बानी भइसकेको मान्छे कसरी सगोलमा बस्ने होला, अनि हाम्रो बिहेको तीन वर्षपछि पहिलो पल्ट ससुराबुवाले बोलाएरै गएको घरमा जाँदा पनि म प्रतिको एक किसिमको अस्वागतको नमिठो अनुभव पनि बेला बेलामा सम्झेर मनमा अलि बेचैन जस्तो पनि भइरहेको थियो । त्यो पालीको हङकङ यात्रामा एकछिन साथीहरुसँगको रमाइलो भेटघाटमा निकै रमायौँ । तर त्यसपछिको थकाई र देश पुग्नु अघिदेखि नै मनमा आएको चिन्ताले ढाक्यो । एकछिन् अघिको रमाइलो कता गयो कता !
रात जसोतसो काटियो । बिहानै भारतीय चिया पसलबाट आइरहेको मसला चियाको वासनाले तान्यो । तल पुगेर परौठा र चिया खायौं ब्रेकफास्टको निम्ति । पाँच वर्षपछि खाएको त्यो खाजा मिठो लाग्यो । केहीबेर आराम गरेपछि देश फर्किन एअरपोर्ट पुग्ने बेला भइसकेको थियो । सबै कुरा हतार हतार जस्तो पनि भइरहेको थियो । मन न हो, उसै त चञ्चल, यतिबेला झनै स्थिर थिएन । हङकङ छोड्ने समय पनि आयो । देश र घरलाई सुहाउने गरी सारी लगाएँ देश फर्कनको निम्ति । ट्याक्सि लियौं र एयरपोर्टतिर लाग्यौं ।
जहाज चढेको याद पनि भएन । जहाजभित्र कति समय बित्यो– त्यो पनि थाहा भएन । काठ्माडौंको एयरपोर्टमा पुगिसकिएछ । बेलुका निकै अबेर भइसकेको थियो । राति ११ बजेतिर जहाज काठमाडौं पुगेजस्तो लाग्छ । राति भएकोले छोरी सुतिसकेको हुनुपर्छ भन्ने लागेको थियो । भोलिपल्ट बिहानै मात्र भेट्ने होला भन्ठानेकी थिएँ । छोरी त अझैसम्म अधैर्य भएर पर्खिरहेकी रहिछ ।
नयाँ घर बन्दै नै थियो । सिद्धिन अझै धेरै बाँकि थियो । तैपनि तल भने भाइ बहिनीहरु बस्ने गरिसकेका रहेछन् । माइला देवर–देवरानी सानो छोरालाई समेत लिएर केहि महिना अघि क्यानाडा गएका कारण त्यो खाली कोठामा हामी बस्यौँ । छोरी फुपूहरुसँग बसिरहेकी थिई । हामी पुगेपछि छोरी अझै नसुतिकन बसेकोमा खुसी र नमज्जा दुवै लाग्यो । छोरीलाई बेस्सरी अँगालोमा बाँधें । छोरीको अनुहारमा प्रसन्नता थिएन । हामीले ढिलो गरेकोमा ऊ बेखुसी थिई । आपसमा भन्न मन लागेका कुरा धेरै भए पनि खुलेर भन्न सक्ने अवस्था पनि भएन ।
छोरीको स्वभावमा पनि धेरै परिवर्तन आईसकेको देखेँ । पहिलेको बालसुलभ खुलापन कता कता हराइसकेको थियो । ऊ अस्वाभाविक रूपमा गम्भिर भएकी थिई । त्यति धेरै बोल्नु पर्ने बच्चीलाई त्यस्तो चुपचाप र गम्भीर मुद्रामा देख्दा आमाको मन फेरि पनि दुख्ने नै भयो ।
धेरै कुरा भोगेर, सिकेर, देखेर, पाँच वर्षको अन्तरालमा देश फर्केकी थिएँ । तर किन किन मलाई अर्कै जुनी प्रवेश गरेको महसुस भइरह्यो– समयभन्दा अघि हो कि पछि हो जस्तो मन अलमलिएको थियो । परिवर्तन त भएको थियो– धेरै कुरामा । तर त्यो मेरो निम्ति सकारात्मक नै थियो कि थिएन छुट्याउनै सकिन ।














