काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

विभागले आज एक विज्ञप्ति जारी गर्दै सांसद शाहीले तथ्य नबुझी सामाजिक सञ्जाल प्रयोग गर्ने नागरिक तथा रास्वपाका समर्थकलाई लक्षित गर्दै अपमानजनक र असंयमित अभिव्यक्ति दिएको आरोप लगाएको छ ।
जिम्मेवार जनप्रतिनिधिबाट यस्तो अभिव्यक्ति आउनु लोकतान्त्रिक मूल्य, राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमाविपरीत भएको भन्दै सांसद शाहीलाई आफ्नो अभिव्यक्तिप्रति आत्मसमीक्षा गर्दै सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ ।
विभागका अध्यक्ष दीपक केसी र सहसचिव फणिन्द्र शर्मा सुबेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उचित सम्बोधन र सार्वजनिक क्षमायाचना नआए लोकतान्त्रिक, संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार आवश्यक कदम चालिने चेतावनी पनि दिइएको छ।
साथै, विभागले आफ्ना समर्थक तथा शुभेच्छुकलाई संयमित, सभ्य र तथ्यमा आधारित प्रतिक्रिया दिन अनुरोध गरेको छ।














