काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले शक्तिको कतिसम्म दुरुपयोग गर्छन् भन्ने कुराको एउटा घटना उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवमाथि गरिएको दुव्र्यवहार हो, जुन हर्कतप्रति सभापति रवि लामिछाने सन्तुष्ट छैनन्न ।
गत असार २८ गते प्रधानमन्त्री बालेनले पार्टी सभापति रवि लामिछानेसँग भेट्दा मन्त्री यादवलाई हटाउने प्रस्तावमा रास्वपा सभापति लामिछानेले असहमति प्रकट गरे पनि उनको पद सुरक्षित छैन । सभापति लामिछानेले प्रधानमन्त्री बालेनसँगको भेटमा अहिले यस्तो निर्णय लिन उपयुक्त नभएको र यसले मधेसमा पार्टी राजनीति कमजोर हुने दाबी गरेपछि रोकिएको हो ।

सभापति लामिछानेले तत्कालै मन्त्री यादवलाई मन्त्रिपरिषद्बाट हटाउँदा सकारात्मक सन्देश नजाने भन्दै रोकेपछि उद्योग मन्त्रालय अहिले बालेनको सचिवालयको निगरानीमा चलेको छ । मन्त्री यादवको घटना एउटा ‘टेष्ट’ थियो, त्यसमा बालेन उत्तीर्ण भएको भए त्यसपछिको अर्को निशाना अर्थमन्त्री स्वर्णिम वाग्ले हुने थिए ।
अहिले हरेक मन्त्रालयका फाइलहरु सदर गर्दा बालेन सचिवालयको अनुमति लिनुपर्ने बाध्यता रहेको छ । जुन कुरा अर्थमन्त्री र मन्त्रालयका सचिवहरुलाई समेत मन परेको छैन ।
गत असार २८ गते आइतबार रवि लामिछाने र प्रधानमन्त्री साहबीचको भेटघाटमा मन्त्री यादवले उद्योग मन्त्रालय सम्हालेपछि कुनै पनि ‘आउटपुट’ नआएको जिकिर गरिएको थियो । तर, रविले संघीय मामिला मन्त्रालयबाहेक अन्य मन्त्रालयबाट पनि ‘आउटपुट’ नआएकाले कि सबै सेट नै परिवर्तन गरौँ भनेर बालेनलाई प्रस्ताव गरेका थिए । रविको उक्त प्रस्तावमा प्रधानमन्त्री बालेनको स्वीकारोक्ति नदेखिएपछि मन्त्रिपरिषद् पुनर्गठन केही समयका लागि रोकिएको हो ।
त्यसो त बालेनको नेगेटिभ लिष्टमा अर्थमन्त्री स्वर्णिम वाग्ले पनि परेका छन् । त्यसैले अस्ति आइतबार रवि र स्वर्णिमबीच नमोबुद्धस्थित दूसिथानी रिसोर्टमा लामो कुराकानी भएको थियो । वाग्ले रविका विश्वासिला पात्र नेता भएकोले उनलाई अर्थमन्त्रीको जिम्मा दिएका थिए । सरकार गठन भएदेखि हरेक कुरामा प्रधानमन्त्रीले आफ्नो मन्त्रालयमा हस्तक्षेप गरेपछि अर्थमन्त्री वाग्ले बालेनसँग असन्तुष्ट छन् । स्रोतका अनुसार बजेट निर्माणकै बेला अर्थमन्त्री वाग्ले राजीनामा दिने ‘मुड’मा पुगेका थिए । अर्थमन्त्रीसँग बढ्दो टसलले बालेनले अर्थमन्त्रीसमेत फेर्न सक्ने बताइन्छ ।
पछिल्लोपटक प्रधानमन्त्री बालेनले निजी क्षेत्रका उद्योगी, व्यवसायीहरुलाई भेटघाट गर्दासमेत अर्थमन्त्री वाग्लेलाई सहभागी नगराएबाट उनीहरुबीचको सम्बन्ध राम्रो नभएको पुष्टि हुन्छ । प्रधानमन्त्री बालेनले अर्थमन्त्री वाग्लेलाई अप्ठेरोमा पार्न बजेट भाषण अगाडि उत्तरीनाकाबाट आयात भएका चिनियाँ ब्राण्डका इभी गाडी रोक्न असार १७ गते सशस्त्र प्रहरी बललाई निर्देशन दिएका थिए । जुन कुरा अर्थमन्त्रीलाई थाहै थिएन । यसै प्रकरणमा मिडियाले अर्थमन्त्री वाग्लेको बदनामसमेत गरे ।
इभी प्रकरणमा मन्त्री वाग्लेलाई फसाउन अर्थ मन्त्रालयको कर्मचारीहरुको संलग्नतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई समेटेर छानबिन समिति बनाए । तर छानबिन समितिले कोरोला नाकाबाट आयात गरिएका इभीमा त्रुटि नभेटिएपछि उक्त गाडीहरु छाड्न पनि प्रधानमन्त्री सचिवालयबाट निर्देशन गयो भने जेठ १५ गते अगाडि रसुवा भन्सार कार्यालयबाट छुटेका इभी गाडीहरु दुई महिनादेखि रोकिएर राखिएको छ ।
रसुवा भन्सारमा पनि भन्सार निर्देशक सुरेन्द्र पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरियो । उक्त प्रतिवेदन भन्सार विभागले असार २ गते अर्थ मन्त्रालयमा बुझाए पनि प्रधानमन्त्री सचिवालयबाट ‘ग्रिन सिग्नल’ नपाएको कारण अहिलेसम्म व्यवसायीहरुले दुःख पाएका छन् ।
जेठ १५ गते विधिवत भन्सार तिरेर आयात गरिएका गाडी किन अहिलेसम्म रसुवा भन्सारले रोक्यो भन्ने विषयमा भन्सार विभागले समेत जवाफ दिन सकेको छैन भने आफ्नो मन्त्रालयअन्तर्गतको विभागमा प्रधानमन्त्रीको सचिवालयको हस्तक्षेपले अर्थमन्त्री वाग्ले निकम्मा सावित भएका छन् ।
रविले बालेनसँगको भेटमा प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेका सदस्यहरुले मन्त्रीलाई पक्राउ गर्न आदेश दिने वा प्रधानमन्त्री आफैले पनि आदेश दिने काम शोभनीय नभएको बताएका थिए । उनले लाइन मिनिष्ट्रीमार्फत सबै काम हुनुपर्नै भन्दै सचेत गराएका थिए । साथै, अन्य मन्त्रालयका मन्त्रीहरुलाई पनि प्रधानमन्त्री कार्यालयमा रहेका स्वकीयले चलाउनु राम्रो सन्देश नभएको बताएका थिए ।
खासगरी स्वास्थ्य मन्त्रालयमा प्रधानमन्त्रीका स्वकीय सचिवहरुले हस्तक्षेप गरको विषयमा पनि लामिछानेको असन्तुष्टि थियो । साथै गृहमन्त्रालय मातहत रहेको प्रहरी संगठनलाई अनावश्यक ढंगले दुरुपयोग गरेकोमा पनि रविले प्रधानमन्त्रीसँग असन्तुष्टि व्यक्त गरेका थिए ।
पछिल्लोपटक रवि र वाग्लेबीच दुसिथानी रिपोर्टमा भएको भेटघाटपछि पार्टी सभापति रविले बालेनको यस्तो हर्कतप्रति कडा कदम चाल्न सक्ने बताइन्छ । स्रोतका अनुसार विधानबमोजिम वाग्लेलाई सभापति रविले पार्टीको उपसभापतिका साथै वरिष्ठ नेता बनाएर वाग्लेलाई थप शक्तिशाली बनाउँदैछन् स्रोतले भन्यो ।














