काठमाडौँ । पन्छीमा फैलिएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ। पशु सेवा विभागका अनुसार साउन १ गतेयता नयाँ सङ्क्रमण पुष्टि भएको छैन। पछिल्लो पटक काठमाडौँको गोकर्णेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो।
महानिर्देशक डा. उमेश दाहालका अनुसार प्रभावित क्षेत्र वरपरबाट नमुना सङ्कलन गरी परीक्षण भइरहेको छ र अवस्था अहिले नियन्त्रणमा छ। यस वर्ष ११ जिल्लामा बर्डफ्लु फैलिएको भए पनि काठमाडौँ उपत्यका र काभ्रेबाहेक अन्य सात जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको विभागले जनाएको छ।
सङ्क्रमण नियन्त्रणका क्रममा देशभर आठ लाख ३५ हजारभन्दा बढी पन्छी र ११ लाख ६५ हजारभन्दा बढी अण्डा नष्ट गरिएको छ। प्रभावित किसानलाई हालसम्म रु ५० करोड ७१ लाखभन्दा बढी राहत वितरण गरिएको विभागले जनाएको छ।
सरकारको तदारुकता र किसानको सहयोगका कारण सङ्क्रमण घट्दै गएको विभागको भनाइ छ। बर्डफ्लु नियन्त्रणमा आउन थालेसँगै कुखुराको मासु र अण्डाको खपत तथा बजार मूल्य पनि सुधार हुन थालेको छ।














