
“अतृप्त मन, शरीर अशक्त
तैपनि मुस्किल बन्न विरक्त
जे गरियो जता बिराइयो
रह्यो यही कमाई
स्वतन्त्र हुने हो अब चाहिं साथी
इहलोकिय हिसाब बुझाइ…”
डा. देवेन्द्रराज पाण्डेले आफ्नो मृत्युपछि मात्र प्रकाशित गर्नु भनेर छोडेर जानुभएको लामो कविताको एउटा सानो अंश हो यो । कविता लेखेको झण्डै एक महिना पछि नै यो लोकलाई छोड्नु भयो भर्खरै । ‘इहलोकिय हिसाब बुझाएर’ परलोक लाग्नुभएको एक असल मान्छेको मनस्थितिको एउटा पाटो देखाउँछ यो सानो अंशले । झण्डै नौ दशक उहाँको सुन्दर र पवित्र मनलाई वास दिएको अमूल्य मानव देहलाई उहाँले छोडेको भोलिपल्ट कविता प्रकाशमा आयो । हामीले पढ्न पायौं ।
डा. देवेन्द्रराज पाण्डे को हुनु हुन्थ्यो भन्ने सम्पूर्ण परिचय यहाँ दिनु जरुरी छैन । काठमाडौंकै एक सम्भ्रान्त परिवारमा जन्मे–हुर्केको, पढाई लेखाईको निम्ति खासै दुःख गर्न नपरेको एक नेपाली नागरिक हुनुहुन्थ्यो । तर आफ्नो वर्गिय अभिमान र सहजतामा सीमित नरही देश र लोक कल्याणको अभियानमा लाग्ने एक अथक योद्धा बन्नु भयो । यस्तो मान्छे बिरलै पाउँछ देशले । देशलाई माया गर्छु र देशको निम्ति लागेको भनेर आफ्नै निम्ति र परिवारलाई मात्र पोस्ने धेरै ढोंगीहरुलाई समयले धेरै कुरा देखाइदिइसकेकोछ । यो पछिल्लो अवधिमा त झनै धेरै त्यस्ता मान्छेहरुको अनुहार देखाइ सकेकोछ । यतातिर नलागौं ।
पेशाले र अध्ययनले उहाँ एक अब्बल अर्थशास्त्रीको रुपमा चिनिनु हुन्छ । कुनैबेला सरकारी क्षेत्रको विशेष पदमा पनि हुनुहुन्थ्यो । उहाँको चेतनाले सरकारी काममा मात्र सीमित भएर बस्न दिएन । उहाँले राजिनामा दिएर आम नागरिकको पक्षमा बोल्ने र देशको लोकतन्त्रको आवाज उठाउनेहरु मध्येका एक अगुवा नै हुनुभयो । २०४६ सालको आन्दोलन पछिको अन्तरिम सरकारको एक वर्ष देशको अर्थमन्त्री पनि बन्नु भयो । त्यसपछि उहाँले देशको लोकतन्त्र दिगो बनाउन नागरिक आन्दोलन र अभियानमा लाग्नु भयो निरन्तर । जेल यात्रामा पनि जानु भयो ।
२०६२÷६३ मा नागरिक आन्दोलन हाक्नेहरु मध्येकै एक हुनु भयो । उहाँको दैनिक जीवन प्राय नागरिक अभियानको निम्ति चिन्तन मननमा नै बित्न थाल्यो । वैकल्पिक राजनीतिको निम्ति भनेर ‘लोकदल’ पार्टी पनि खोल्नु भयो तर त्यसमा समयले साथ दिएन र उहाँ असफल हुनु भयो । तर हार नमानिकन निरन्तर लोकहितकै निम्ति आवाज उठाउन छोड्नु भएन र अन्त्य सम्म पनि देश र जनताकै कुरागर्न रुचाउने एक जागरुक बुद्धिजीवी हुनुभयो ।
डा पाण्डेको जीवनको अर्को पाटो हो लेखन । देशमा अप्ठ्यारो पर्दा बरोबर गम्भिर मार्ग दर्शन दिने लेखहरु पनि लेख्नु हुन्थ्यो । केही पुस्तकको रुपमा पनि छापिएका छन् । ‘एक ज्यान दुई जुनी’मा आफ्नै जीवनबारे लेख्नु भएको छ । आत्म श्लाघाबाट मुक्त यो आत्म वृत्तान्तमा ठाउँ ठाउँमा आफैँलाई उडाएर लेख्नु भएको छ । साहित्यमा पनि उहाँको गहिरो रुचि रहेछ । तर साहित्यिक कृतिहरुमा उहाँ त्यति देखा पर्नु भएन । कति कविता लेख्नु भयो होला– उहाँले छोड्नु भएको कविताले नै स्पष्ट पारिसकेको छ ।
उहाँसँग मेरो चिनापर्ची रमाइलोसँग भएको थियो । चीनबाट फर्के पछि हामी सत्ता राजनीतिमा लागेनौँ । देशको चिन्ता त हामीलाई पनि लागिरहन्थ्यो नै । नागरिक अभियानहरूमा संलग्न भएर हामीले समाज रूपान्तरणका निम्ति सकेको गरि नै रह्यौं । म भन्दा बढि त मेरो जीवन साथी डा.सरोज धिताल नै लागे– आन्दोलनको बेला शिक्षण अस्पतालबाट कफ्र्यू तोडेर जेल पर्ने चौबीस जना मध्ये उनी पनि थिए । आन्दोलनकै सिलसिलामा विभिन्न छलफल कार्यक्रमहरुमा डा. पाण्डेसँग उनको भेटघाट भइ नै रहन्थ्यो । डा. पाण्डे उनलाई स्नेह गर्नु हुन्थ्यो । बेला बेलामा उहाँको घरमा म पनि पुगेको छु । उहाँको जीवनसंगिनी पद्मा पाण्डेसँग पनि भेटघाट भएको छ ।
उहाँ क्यान्सरले थलिएपछि एकजना विश्वविख्यात बौद्ध गुरुले लेखेको पुस्तक पढ्न दिन सरोजलाई मन लागिरहेको थियो । डा. पाण्डेको स्वास्थ्यस्थितिको बारे सरोजको डा. अनूप सुवेदीसँग कुरा भइरहन्थ्यो । हामी चिन्तित हुन्थ्यौँ । तर सुस्वास्थ्यको कामना गर्नु बाहेक के पो गर्न सक्थयौँ र !
पछिल्लो अवधिमा निकै गाह्रो हुँदै गएको कुरा सुनेपछि किताब लाने विचार सरोजले त्यागे । अन्तिम पटक सरोजसँगै म पनि जाने इच्छा गरेँ । हामी दुईजना त्यहाँ पुग्दा भाष्कर गौतम कुरा गर्दै हुनुहुँदो रहेछ । उहाँको अनुहारमा चिन्ता थियो ।
डा.पाण्डे नजिकैको खाटमा पल्टिरहनुभएको थियो । सकिनसकी हाँसेर हाम्रो स्वागत गर्नुभयो ।














