Logo
Logo

कठपुतली-कविता


 प्रकाशचन्द्र खतिवडा

441
Shares

The current image has no alternative text. The file name is: balen-1.jpg

आजकल सहर शान्त छ भनौँ कसरी ?
सहरको सुन्दर मुहार बिगार्ने बहानामा 
भत्काइएका छन् 
गरिबको झोपडीहरू 
र दबाइएका छन् आवाजहरू
होल्डिङ्ग सेन्टरमा ।

विस्थापन हैन
व्यवस्थापन हो भन्दै
भ्रम छरी रहेछन्
अनि खुसी साटिरहेछन्
सहरको कुरूपता हटाइयो भन्दै ।

तिम्रो सहरमा दिउँसै आत्मदाह गरिन्छ
तिमी मूकदर्शक बन्छौँ 
दौडा दौडी गरे झैँ  
आँखामा छारो हाल्छौ
नक्कली रुवाइ रुन्छौँ 
मरी सक्यो संवेदना तिम्रो सहरमा 
चारैतिर कोलाहल फैलँदा
तिम्रो सहर
मौनता साँध्छ किन ?

कुशासन मन पराउँदैनौ
सुशासनको नारा जप्दै
करको भारी थोपार्छौ
अब्बल अर्थमन्त्रीको बजेटले
घाटा व्यापार गर्दै 
गरिबको गला निमोठ्छौ
गरिबको थाप्लोमा ऋण बोकाएर
धनीहरूको पक्षपोषण गर्छौ किन ?

आवाजबिहीनहरुको आवाज हुँ भन्थ्यौ
काम बिगारे पाता फर्काऊ भन्थ्यौ
विरोधका स्वरहरू उर्लिरहेनछ
वैचारिक सङ्घर्ष गर्न छोडी
सामाजिक सञ्जाल रङ्गाउँछौ
तिमी कठपुतली हौ कि ?
जनताको सरकार ?

सहर जल्दा
खुसीयाली मनाउँछौ 
मान्छे मर्दा
हाँसोमा उडाउँछौ
लाटो हौ कि?
बाठो हौ ?
बोली सुन्न नपाई
मान्छेहरू भयभीत हुन्छन् ।

बोल्नै नजान्नेहरू
बेअर्थ बकबक गर्छन् 
स्पष्टीकरण दिनु छैन
माफी माग्नु छैन 
हो हो मा  ताली ठोक्छन्
दुई तिहाइको दम्भ नदेखाऊ
जनताले तिमीलाई पनि थान्को लाउँछ
होसियार ।
देश दुर्घटनामा पर्ला
तिम्रो सधैँ सत्र हैन
माइतीघर मण्डलाले 
हिसाब खोज्दा
तिमी कुन दुलो भित्र पस्छौ ?

प्रतिक्रिया दिनुहोस्