काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन अपिल गरेकी छन् ।

सोमबार एक वक्तव्य जारी गर्दै मन्त्री मेहताले घटनामा ज्यान गुमाएका देवानगञ्जका ओमप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन् । यस्तै, झडपमा परी घाइते भएका सर्वसाधारण तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारका लागि आवश्यक समन्वय भइरहेको जानकारी दिएकी छन् ।
उनले सम्बन्धित सुरक्षा निकाय तथा जिल्ला प्रशासनसँग निरन्तर सम्पर्क गरी स्थिति नियन्त्रणमा लिन र घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको बताएकी छन् ।
अहिलेको संवेदनशील परिस्थितिमा कुनै पनि अपुष्ट सूचना र अफवाहको पछाडि नलाग्न आग्रह गर्दै मन्त्री मेहताले सामाजिक सद्भाव तथा आपसी भाइचारामा आँच आउने गतिविधिबाट टाढा रहन अपिल गरेकी छन् ।
घटनाको निष्पक्ष छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक हुने विश्वास व्यक्त गर्दै उनले यो कठिन घडीमा सबै पक्षलाई धैर्य, संयतता र जिम्मेवारीका साथ प्रस्तुत भई शान्ति-सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेकी छन् ।














