काठमाडौं । सुनसरीमा सुरक्षाकर्मीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखसँग छलफल सुरु गरेका छन् । गृहमन्त्री गुरुङले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेलसँग छलफल थालेका हुन् ।

छलफलमा गृहमन्त्री, गृहसचिव राजकुमार श्रेष्ठ, आईजीपीलगायतका अधिकारीहरूको उपस्थिति छ । अहिले सिंहदरबारमा छलफल चलिरहेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
सुरक्षाकर्मीको गोली लागेर देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । कप्तानगन्जमा गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको दाबी प्रहरीको छ । झडपमा घाइते भएका ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये अधिकांशलाई गोली लागेको छ । झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् ।














