काठमाडौं । एमालेसँग भएको तीन बुँदे सहमतिप्रति असन्तुष्ट माधव नेपालसँग पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड माधवलाई भेट्न उनकै निवास पुगेका थिए ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले गरेको तीन बुँदे सहमतिप्रति माधव नेपालले असन्तुष्टी जनाएका छन् ।
विशेषगरी कोशी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने निर्णयप्रति नेपालको असहमति छ । यसबारे आफू निकट नेताहरुसँग आइतबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा माधव नेपालले छलफल गरेका थिए ।
सहमति बमोजिम कोशी, बागमती र लुम्बिनी सरकारको नेतृत्व एमालेले लिने अनि कर्णाली र सुदूरपश्चिम सरकारको नेतृत्व नेकपाले गर्नेछन् ।














