काठमाडौं । सुनसरी जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले सूचना जारी गर्दै मिति २०८३ साल साउन ११ गते राति ९:०० बजेदेखि लगाइएको अनिश्चित कालीन कर्फ्यु आदेश हटाइएको जानकारी दिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम तोकिएको सीमाभित्र आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी जारी गरिएको उक्त कर्फ्यु आज बिहान १२:१५ बजेदेखि खुला गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनामा उल्लेख छ।
यसअघि केन्द्रिय सुरक्षा समितिको निर्णयपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सिमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोपाली टोल) पश्चिममा कोशी व्यारेजको पुल तथा उत्तर र दक्षिण तर्फ राजर्माको २ सय मिटरको दुरीमा कफ्यु आदेश जारी गरेको थियो ।
देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिच आइतबार राति भएको झडप नियन्त्रणमा लिन खोज्दा गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
सरकारले घटनाको छानबिन गर्ने सोमबार नै छानबिन समिति बनाइ सकेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा संयोजकत्वको ५सदस्यीय समिति गठन गरेको हो । समितिले घाइते तथा घटनाका प्रत्यक्ष पीडितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन काम सुरु गरिसकेको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।















