Logo
Logo

स्वास्थ्य सेवा अवरुद्ध नगर्न स्वास्थ्य मन्त्रालयको अपिल


0
Shares

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

The current image has no alternative text. The file name is: health-ministry.jpg

मन्त्रालयले घटनामा संलग्न दोषीलाई कानुनको दायरामा ल्याउन सम्बन्धित सरकारी निकायहरूले आवश्यक प्रक्रिया अघि बढाइरहेको पनि स्पष्ट पारेको छ । मन्त्रालयले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक तथा अत्यावश्यक सेवा भएकाले यसको नियमित प्रवाहमा कुनै अवरोध हुन नहुने उल्लेख गरेको छ ।

विज्ञप्तिमा नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्नुका साथै स्वास्थ्यकर्मीले सुरक्षित, सम्मानजनक र निर्भय वातावरणमा सेवा दिन पाउने अधिकार सुनिश्चित गर्नु राज्य र सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गरिएको छ ।

स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सा पेशाको गरिमा र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्बाध रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयले सबै अस्पतालसँग अपिल गरेको छ । त्यस्तै, स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुने वातावरण बनाउन सहयोग, सहजीकरण र समन्वय गरिदिन सम्बन्धित सबै निकायलाई पनि मन्त्रालयले आग्रह गरेको छ ।

नेपाल चिकित्सक सङ्घले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा आन्दोलनका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्