Logo
Logo

‘घुम्ने मेचमाथि अन्धो मान्छे’


0
Shares


बितेको ७५ वर्षमा विश्वका धेरै विकासउन्मुख देशहरूले लोकतान्त्रिक व्यवस्थाको माध्यमबाट आर्थिक समृद्धि हासिल गरेका धेरै उदाहरणहरू छन् । तर, नेपाल भने किन पछाडि प¥यो भन्ने कुराले हामीलाई बेलाबेलामा झकझक्याइरहन्छ । वास्तवमा, भन्ने हो भने लोकतन्त्रको गन्तव्य भनेकै सभ्य समाजको निर्माण गर्दै आर्थिक समृद्धि हासिल गर्नु हो ।

समाजमा विद्यमान समस्याहरू समाधान गर्दै लोक कल्याणकारी राज्यको निर्माण हो, त्यसमा हामी चुकेका छौँ । त्यतातिर हामीले ध्यान नदिएको कारण समस्यै समस्याको भारीले अहिलेसम्म हामी थिचिनुपरेको हो ।

जबसम्म नागरिकले लोकतन्त्रका आधारभूत मूल्य, मान्यता आफ्नो जीवनमा उपभोग गर्न पाउँदैनन्, तबसम्म लोकतन्त्रले पूर्णता पाउँदैन । लोकतन्त्र भनेको स्वतन्त्रतामात्र होइन, नागरिकको जीवन पद्धति हो । देश एउटा व्यक्तिले मात्र बन्न सक्दैन, त्यसका लागि शासक पनि असल र देशप्रति इमानदार हुनुपर्छ । जबसम्म नागरिकले आफ्नो जीवनमा सोचेजस्तो परिवर्तन पाउँदैनन्, तब ऊ लोकतन्त्रका लागि तड्पिरहन्छ । यही चक्रमा हामीले यो ७५ वर्षमा धेरैपटक व्यवस्था परिवर्तन ग¥यौं, धेरै शासकहरू भोग्यौँ । तै पनि त्यसले हाम्रो प्यास मेटेको छैन ।

हामी अझै पनि बाँच्नका लागि देशभित्रै तड्पिनुपर्ने, विदेशमा भतारिनुपर्ने अवस्था छ । रोग, भोक र शोकमा बाँच्न हामी आज पनि बाध्य छौँ । संविधानमा लेखिएका अक्षरले मात्र भोको पेट भर्दैन, त्यसका लागि संविधान प्रदत्त अधिकारहरू कार्यान्वयन हुनुपर्छ । भन्न त संविधानमा समाजवाद उन्मुख भनिएको छ, र मौलिक हकले प्रत्येक नागरिकलाई बाँच्ने अधिकार दिएको छ, तर किन नागरिकहरू आत्महत्या गर्न बाध्य छन् ? के यो राज्यको असफलता हो । जब राज्य निरङ्कुश र तानाशाही बाटोमा अघि बढ्छ, तब उसले जनताका अधिकार कुल्चन खोज्छन् र नागरिकहरू निराश भएर आत्मदाहको बाटो रोज्छन् ।

बालेन नेतृत्वको सरकारबाट आमनागरिकले ठूलो अपेक्षा गरेको छ । त्यो अपेक्षा पूरा गर्न आफू मात्र इमानदार भएर पुग्दैन, आमनागरिकलाई इमानदार बन्न सिकाउनु पर्छ । आर्थिक समृद्धिको पहिलो जग भनेकै सुशासन हो, सुशासनको बाटोमा हिँड्न कठिन छ । विगतका सरकारप्रति आमनागरिकको मोहभंग हुनुको एउटा प्रमुख कारण भ्रष्टाचार पनि हो । शक्तिमा हुनेहरूले नै पदीय दुरुपयोग गर्ने हुँदा विगत ३५ वर्षमा लोकतन्त्रको छहारीमा भ्रष्टाचार र कुशासन यति मौलायो कि देशमा को भ्रष्टाचारी हो भन्दा पनि को भ्रष्टाचारी होइन भन्ने ठाउँसम्म समाज आइपुग्यो ।

यसो भन्दैमा नयाँ आउनेहरूले सबै कुरा ठिक गर्छन् भन्ने होइन, नयाँहरूलाई ठिक ठाउँमा ल्याउन नागरिक सचेत हुनुपर्छ । बालेन सरकारको सय दिनमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने नाममा उनको सचिवालयले जे जस्ता हर्कत गरे त्यसले यो सरकारप्रति चौतर्फी आलोचना बढेको छ । आलोचनालाई विरोध ठान्ने प्रवृत्ति तानाशाही र निरङ्कुश सोच हो । यही सोचले जतिसुकै शक्तिशाली शासकलाई पनि कमजोर बनाउँछ । आलोचनासँग डराउनेले देशलाई गन्तव्यसम्म पु¥याउन सक्दैन । त्यस्ता शासकहरू समय क्रममा आफू मात्र समाप्त हुँदैनन्, देशलाई थप बर्बादीको बाटोमा धकेल्छन् भन्ने कुरा गृहयुद्धको भुमरीमा फसेका धेरै देशहरूबाट हामीले शिक्षा लिनुपर्छ ।

सत्ता र शक्ति छ भन्दैमा आफूलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिले मै हुँ भन्ने तानाशाहले पनि धुलो चाटेको इतिहास छ । यदि, शासकहरू निरङ्कुश तानाशाह भए भने इतिहासले माफी गर्दैन । नेपालमा पनि राजतन्त्रको अन्त्य त्यत्तिकै भएको थिएन । अझ लोकतन्त्रकै बर्को ओढेर आएका शासकहरू सत्ताको उन्मादमा चल्न खोज्दा भुँइ न भाँडो भएको कुरा हाम्रै आँखा साक्षी छन् ।

सचेत नागरिकले त सामाजिक सञ्जालको माध्यमबाट त्यस्ता शासकहरूलाई खबरदारी नगरेको होइन, ‘सक्किने कि सच्चिने’ भन्ने नारा सामाजिक सञ्जालमा भाइरल भएकै थियो, तर तिनीहरू सच्चिन तयार भएनन्, सक्किन तयार भए । अन्ततः जेनजी विद्रोहले देशै खरानी हुने डरलाग्दो अवस्था आयो ।

जेनजी विद्रोहको जगमा उदाएको बालेन सरकारमा पनि शक्तिको उन्माद चढ्यो भने त्यसको हालत पनि विगतका असफल शासकहरूको जस्तै नबन्ला भन्न सकिन्न । भूपी शेरचनले त्यत्तिकै ‘घुम्ने मेचमाथि अन्धो मान्छे’को कविता कोरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्