काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले संसद्मा प्रधानमन्त्री बालेन शाहको खोजी गरेका छन् ।बिहीबार प्रतिनिधिसभामा बोल्दै सांसद शर्माले सुनसरीमा त्यत्रो घटना हुँदा पनि प्रधानमन्त्री कहाँ, के गर्दै छन् भन्नेबारे जानकारी दिन माग गरेका हुन् ।

‘सुनसरीको कप्तानगन्जमा भएको घटनाले सिंगो देशलाई तरङ्गित र स्तब्ध बनाएको छ। यस्तो संवेदनशील बेला त हाम्रा प्रधानमन्त्रीले संसद्मा आएर देशभरीलाई त्यहाँको विषयवस्तु, त्यहाँको घटना र त्यहाँको समग्र अवस्थाबारे जानकारी दिनुपर्थ्यो,’ उनले भने, ‘तर विडम्बना हाम्रो प्रधानमन्त्री कहाँ हुनुहुन्छरु के गर्दै हुनुहुन्छरु न सांसदलाई जानकारी छ न कसैलाई जानकारी छ ।’
उनले गृहमन्त्री सुधन गुरूङले आफ्नो पद जसलाई चाहिएको छ उसैलाई दिन्छु भन्दै गरेको भिडियो पोस्टमा समेत प्रश्न उठाए ।’गृहमन्त्रीज्यू भन्दै हुनुहुन्छ- यो गृहमन्त्री पद कसलाई चाहिएको छ लैजाओ । उहाँ यस्तो कुरा सार्वजनिक रूपले भन्न र यति अराजक अभिव्यक्ति दिन भ्याउनुहुन्छ, तर सुनसरी जान भ्याउनुहुन्न ?’उनले भने, ‘यो घटनापछि राज्य कहाँ छ ? सरकार अभिभावक बन्नुपर्छ कि पर्दैन ?’
सुनसरीको देवानगन्जमा ओमप्रकाश मेहताको हत्या घटनाबारे गृहमन्त्रीले त्यहाँको स्थानीय तहलाई जिम्मेवारी दिएको हो कि नेपाल सरकार आफूले लिने हो, त्यसको जानकारी सदनलाई चाहिएको सांसद शर्माले बताए ।
‘प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूले विगतमा भएका घटनामा राज्य संवेदनशील हुनुपर्छ भन्नुहुन्थ्यो, आज त्यो जिम्मा उहाँहरूले लिनुहुन्छ भन्ने मलाई लागेको छ । प्रधानमन्त्री यो सदनमा आएर यस्ता घटनाको जानकारी गराउन म अनुरोध गर्छु,’ उनले भने ।














