काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्तले सरकारको कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बैठकलाई सम्बोधन गर्दै सांसद पन्तले जनआन्दोलनको जग र परिवर्तनको नारासहित गठन भएको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे । उनले सरकारमा सहभागी दलकै सांसद भएर पनि आफूले परिवर्तनको कुनै ठोस अनुभूति गर्न नसकेको बताए ।
सांसद पन्तले अस्पतालमा चिकित्सकमाथि भएको हातपात र देशभरका स्वास्थ्यकर्मी आन्दोलित हुँदा सर्वसाधारणले उपचार नपाएको विषयमा संसद्को ध्यानाकर्षण गराए । गत शनिवार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको थियो । सो क्रममा चिकित्सकमाथि हातपात भएको र त्यसको विरोधमा देशभरका चिकित्सकहरू आन्दोलित भएका छन्। सांसद पन्तले उक्त घटनाको सूक्ष्म अध्ययन गरी दोषीलाई कानुनी कारबाही गर्न र निर्दोष व्यक्ति पक्राउ परेका भए तत्काल रिहा गर्न माग गरे ।
सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उनले भने, ‘परिवर्तनको नारामा बनेको यो सरकारमा स्वयम् मैले त परिवर्तन महशुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको अनुभूति गर्न पाउनु रु’ सांसद पन्तले सरकारले जनचाहनाअनुसार आफ्नो कार्यशैलीमा सुधार ल्याउनुपर्नेमा जोड दिँदै वर्तमान अवस्थाप्रति प्रश्न उठाएका हुन् ।














