काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीको घटनापछि उत्पन्न परिस्थितिलाई साम्य तुल्याइ सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गरेका छन् ।

पार्टी संसदीय दल कार्यालयमा सिंहदरबारमा उनले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरेका लामिछानेको सचिवालयले जनाएको छ । उनले विश्व हिन्दू महासङ्घका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयाँलसँग पनि छलफल गरिरहेका छन् ।
लामिछानेले उनीहरूसँग सुनसरी र सिरहालगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावका लागि अपिल गर्न आग्रह गरेका हुन् ।
लामिछानेले अहिलेको अवस्थामा कसैले जस लिने पक्षमा भन्दा पनि सामाजिक सद्भाव कायम राख्ने पक्षमा सबैले लाग्नु पर्ने बताए । सोही क्रममा उनले नेतृत्व भनेकै सङ्कटको वेलामा चाहिने बताउँदै सबै पक्षलाई समस्या समाधानको बाटोमा लाग्न आग्रह गरे ।














