काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमालमा ज्यान गुमाएका विश्व कीर्तिमानधारी पर्वतारोही निर्मल पुर्जासहित छ जना नेपाली आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बालेनले शनिवार फेसबुकमार्फत शोक सन्देश जारी गर्दै आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको बताएका छन् । उनले हिमालले धेरैलाई शिखरको गौरव दिने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने उल्लेख गर्दै हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने बताएका छन् ।
फेसबुकमा उनले लेखेका छन्, ‘आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ । तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् ।’














